
पोखरा। पोखरा महानगरपालिका वडा नं.३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयले वैदिक गुरुकुलीय पद्धति र आधुनिक शिक्षाको फ्युजनमार्फत विद्यार्थी तथा अभिभावकको ध्यान खिच्न सफल भएको छ। हाल कक्षा ६ देखि १० सम्म सञ्चालित यस विद्यालयमा विभिन्न जिल्लाका ३० जना विद्यार्थीहरूले पूर्ण आवासीय सुविधासहित अध्ययन गरिरहेका छन्।
विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय (रेग्मी) का अनुसार गुरुकुलले विद्यार्थीहरूका लागि निस्शुल्क आवास तथा भोजनको व्यवस्था गरेको छ। यहाँको पाठ्यक्रममा परम्परागत र आधुनिक विषयहरूको सन्तुलन मिलाइएको छ। विद्यालयमा नेपाली, अंग्रेजी, गणित र सामाजिक शिक्षा, वेद, व्याकरण र संस्कृत भाषा तथा कर्मकाण्ड, संगीत र कम्प्युटर शिक्षा विषयहरूको अध्यापन हुन्छ ।
विद्यार्थीको सर्वाङ्गिन विकासका लागि गुरुकुलले साप्ताहिक रूपमा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ। जसमा संस्कृत भाषा सम्भाषण, वक्तृत्वकला, हाजिरीजवाफ, प्रवचन, कविता र खेलकुद पर्दछन्। यसका साथै दैनिक योगाभ्यास र संगीत शिक्षालाई पनि प्राथमिकता दिइएको छ।
अनुशासित र जेहेन्दार विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको समेत व्यवस्था रहेको प्रधानाध्यापक उपाध्यायले जानकारी दिए। राधाकृष्ण गुरुकुलले आगामी शैक्षिक सत्रका लागि कक्षा ६, ७, ८ र ९ मा सीमित सिटहरूमा भर्ना आह्वान गरेको छ। चैत २५ गतेदेखि सुरु भएको भर्ना आवेदन प्रक्रिया वैशाख ९ गतेसम्म चल्ने विद्यालयले जनाएको छ।
निम्बार्क सम्प्रदायको विस्तार गर्ने उद्देश्यले विसं २०२२ मा राधाकृष्ण मन्दिर स्थापना भएको थियो। मन्दिर स्थापनाको पाँच दशकपछि विसं २०७० मा स्वीकृति पाएर २०७१ सालदेखि यो विद्यालय सञ्चालनमा आएको हो। शुक्लागण्डकीको तट र गगन, च्यवन जस्ता ऋषिहरूको तपस्थलिमा अवस्थित यस गुरुकुललाई वृद्धाश्रमसँगै यहाँको महत्वपूर्ण उपलब्धिका रूपमा स्थानीयले लिने गरेका छन्। मुक्तिनाथको प्रवेशद्वारमा रहेको यो विद्यालयलाई धार्मिक तथा शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
