
पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ घार्मीमा रहेको भुमे मैदान बहुउद्देश्यीय सामुदायिक समूहको सातौं साधारण सभा विभिन्न सामाजिक व्यक्तित्व र विद्यार्थीहरूलाई सम्मान गर्दै सम्पन्न भएको छ। कार्यक्रममा पत्रकारिताको माध्यमबाट घार्मी क्षेत्रको सामाजिक, शैक्षिक, धार्मिक र पर्यटन विकासमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार शिशिर पौडेललाई विशेष सामाजिक सम्मान प्रदान गरियो। विगत दुई दशकदेखि पोखरामा क्रियाशील पौडेललाई समूहले यस वर्षको विशेष सम्मान प्रदान गरेको हो। गत वर्ष यो सम्मान सरसफाइ अभियन्ता मानध्वज गुरुङलाई प्रदान गरिएको थियो।
साधारण सभाको अवसरमा समूहका संस्थापक अध्यक्ष पोषराज पौडेल, निवर्तमान अध्यक्ष रामचन्द्र पौडेल र उपाध्यक्ष डिल्लीराम पौडेललाई उनीहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरियो। त्यसैगरी, माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्तीर्ण हुने सदस्यका छोराछोरीहरू सनम पौडेल, प्रमिशा पौडेल, श्रेया पौडेल, आदर्श पौडेल, संघर्ष पौडेल र त्रिशांक पौडेललाई पनि शैक्षिक सम्मान प्रदान गरिएको थियो। विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेका समूहका सदस्यहरूलाई समेत पोखरा १९ का वडा सदस्य कल्पना सुनार र समूहका अध्यक्ष बैकुण्ठ पौडेलले सम्मान गरे।
प्रमुख अतिथि वडा सदस्य कल्पना सुनारले समूहले छोटो समयमा सामाजिक रूपान्तरणका क्षेत्रमा उल्लेख्य कार्य गरेको बताउँदै समाज विकासका लागि एकता अनिवार्य रहेको उल्लेख गरे। समूहका अध्यक्ष बैकुण्ठ पौडेलले संस्थागत विकासमा समुदायका हरेक नागरिकको समान भूमिका र सक्रियता आवश्यक रहनेमा जोड दिए। कार्यक्रममा सम्मानित पत्रकार शिशिर पौडेल, संस्थापक अध्यक्ष पोषराज पौडेल, घार्मी जनजागरण आमा समूहका सचिव हिरादेवी पौडेल लगायतले समाजको चौतर्फी विकासमा सहकार्यको महत्त्वबारे बोलेका थिए ।
सभाले अध्यक्ष बैकुण्ठ पौडेल र कोषाध्यक्ष सुनिता अधिकारी पौडेलद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। कार्यक्रमको एक विशेष आकर्षणको रूपमा निवर्तमान अध्यक्ष एवं योग प्रशिक्षक रामचन्द्र पौडेलले सहभागीहरूलाई योग सम्बन्धी प्रशिक्षण समेत गराएका थिए । उपाध्यक्ष डिल्लीराम पौडेलको स्वागत र सहसचिव खेमराज पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागीहरूले एक(आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरेका थिए।
