
पोखरा । पोखरा महानगरपालिका-१७ स्थित बिशाका कला केन्द्रको औपचारिक उद्घाटन एक कार्यक्रमका बीच सम्पन्न भएको छ । केन्द्रका संचालक बिनोद गिरिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा कला प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य बिक्रम गुरुङले कला केन्द्रको उद्घाटन गर्दै युवाहरूलाई सिर्जनात्मक क्षेत्रमा अघि बढ्न प्रेरणा दिने यस्ता संस्थाहरूको आवश्यकता रहेको बताए । उनले कला, संस्कृति र खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सहज हुने उल्लेख गर्दै केन्द्रको सफलताको कामना गरे ।
त्यसैगरी, प्रहरी चौकी छोरेपाटन का इन्चार्ज गौतम श्रेष्ठले समाजमा सकारात्मक ऊर्जा फैलाउन कला क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपाल का केन्द्रीय सदस्य कृष्ण रानाभाट लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वक्ता गणेश जिसीले “हाम्रो धर्म र संस्कृति हाम्रो पहिचान हो, यसको संरक्षण गर्नु सबैको दायित्व हो” भन्ने धारणा राख्दै कला केन्द्रले परम्परा जोगाउने अभियानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा डेभिज फल क्लब तथा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका प्रतिनिधि, प्रशिक्षार्थी र अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
नव स्थापित कला केन्द्रले स्थानीय स्तरमा लुकेका प्रतिभालाई उजागर गर्दै कला, संस्कृति र सिर्जनात्मक गतिविधिहरूलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।
