हेमजा आलु महोत्सवमा समीक्षा अधिकारीको धमाका, धुलो उड्ने गरी नाचे दर्शक

Share:

पोखरा । पोखराको हेमजामा जारी ‘१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव’ को छैटौँ दिन बुधबार चर्चित गायिका समीक्षा अधिकारीको प्रस्तुतिले दर्शकहरू झुमेका छन्। विष्णुपादुका खेल मैदानमा आयोजित महोत्सवमा समीक्षाले आफ्ना चर्चित गीतहरू मार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिलाइन्।

समीक्षाले ‘दुस्मन हेरेको हेर्यौं’, ‘कुरा बुझ्नु पर्दछ’, ‘जिन्दगी व्यर्थ छ बाटुली’, ‘शिरमा शिरबन्दी’, ‘बालापनको उमेर’ लगायत दर्जन बढी गीत प्रस्तुत गरेकी थिइन्। उनको प्रस्तुतिमा दर्शकले यसरी साथ दिए कि मैदानमा धुलो उडेर पानी नै हाल्नुपर्ने अवस्था सिर्जना भएको थियो। समीक्षाका साथै कलाकारहरू कुमार पुन, तुलसा क्षेत्री, नवराज अधिकारी र दुर्गा क्षेत्रीले पनि दर्शकलाई नचाएका थिए।

त्यस्तै, रत्यौली प्रतियोगिता र विभिन्न विद्यालयका विद्यार्थीहरूको नृत्यले पनि महोत्सवमा रौनक थपेको थियो। महोत्सव अन्तिमतिर आइपुग्दा कारोबार र दर्शकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठका अनुसार बुधबार साँझसम्म करिब २ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको अनुमान छ।

आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीका अनुसार बुधबारसम्म ६५ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् भने ५ हजार ३ सय बढी घरपरिवारले आलु किनेर लगेका छन्। महोत्सवमा मात्रै हालसम्म २६ लाख रुपैयाँ बढीको आलु बिक्री भइसकेको छ। महोत्सवमा आलु प्रतिकेजी ३५ रुपैयाँमा बिक्री भइरहेको छ।

हेमजाको निलो आलु स्वास्थ्यकर, छिटो पाक्ने र स्वादिष्ट हुने भएकाले पोखरासहित स्याङ्जा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ र सुनसरीदेखिका मानिसहरू आलु किन्न महोत्सव स्थल पुगेका छन्। आलुका अतिरिक्त घरायसी सामग्री, लत्ताकपडा र भाँडाकुँडाको व्यापार पनि उत्साहजनक रहेको आयोजकले जनाएका छन्।

बिहीबार महोत्सवमा चर्चित लोक गायक श्याम राना, तारापति सुवेदी, पार्वती जिसी, लक्ष्मी नेपाली, सुरेश थापा लगायतका कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक सुशील श्रेष्ठले जानकारी दिए। चैत २७ गतेदेखि सुरु भएको यो महोत्सव वैशाख ५ गतेसम्म चल्नेछ।

कमेन्ट गर्नुहोस्
Share: