पोखरामा ‘अफलाइन’ पठाओ र इनड्राइभर चलाउने १३ जना पक्राउ

Share:

पोखरा । पोखरा नगरक्षेत्रमा मोबाइल एप विना नै ‘अफलाइन’ रूपमा यात्रु ओसारपसार गर्ने १३ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पठाओ तथा इनड्राइभर जस्ता राइड शेयरिङ एपमा आबद्ध भई वा नभई अफलाइनमा मोटरसाइकल चलाएर यात्रुसँग चर्को भाडा असुल्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले पोखराका विभिन्न स्थानबाट शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूले तोकिएको भन्दा बढी भाडा लिई ठगी गर्ने र यात्रुहरूलाई अनावश्यक दुःख हैरानी दिने गरेको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार पछिल्लो समय पोखरामा राइड शेयरिङको नाममा एप प्रयोग नगरी सिधै मोलमोलाइ गर्ने क्रम बढेपछि निगरानी बढाइएको थियो।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेहरूमा पोखराका विभिन्न वडा तथा स्याङ्जा, तनहुँ र गोरखा स्थायी ठेगाना भई पोखरा बस्ने २२ देखि ५४ वर्ष उमेर समूहका पुरुषहरू रहेका छन्। पक्राउ पर्नेहरूमा विष्णु बहादुर नेपाली स्याङ्जा घर भई पोखरा-८ बस्दै आएका, राजन परियार पोखरा-१७ , लिल बहादुर गुरुङ पोखरा-१३, प्रविण थापा पोखरा-२१, नवीन थापा तनहुँ घर भई पोखरा-१७, दीपक कुमार गुरुङ पोखरा-१५, अम्मर बहादुर महतरा पोखरा-१४, माधव कुइकेल रुपा-७, बुद्धि बहादुर वि.क. मादी-७, विक्की लामा पोखरा-१७, कृष्ण कुमाल भानु-७, तनहुँ, मिन बहादुर थापा गोरखा घर भई पोखरा-१३  तथा कृष्ण बहादुर गुरुङ पोखरा-१३ बस्दै आएका रहेका प्रहरीले  जनाएको छ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले यात्रुहरूलाई पनि सुरक्षित यात्राका लागि आधिकारिक एपको मात्र प्रयोग गर्न र ठगी हुनबाट बच्न आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: