
पोखरा। पोखराको हेमजामा जारी ‘१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव’ अन्तिम चरणमा पुग्दै गर्दा दर्शक र खरिदकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ। महोत्सवको सातौँ दिन बिहीबारसम्म ३ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको छ। आयोजक विष्णुपादुका क्लबका अनुसार बिहीबार साँझसम्म ३० लाख रुपैयाँ बराबरको आलु बिक्री भइसकेको छ। आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले हालसम्म ६ हजारभन्दा बढी घरपरिवारले आलु किनेर लगेको जानकारी दिए।
“प्रति घरपरिवार १ केजीदेखि अधिकतम २ हजार १०० केजीसम्म आलु किनेर लैजाने ग्राहक भेटिएका छन्,” कार्कीले भने। महोत्सवमा आलुको मूल्य प्रतिकेजी ३५ रुपैयाँ तोकिएको छ। स्वादिलो र स्वास्थ्यकर मानिने हेमजाको ‘निलो आलु’ ग्राहकको मुख्य रोजाइमा परेको छ।
महोत्सवमा हालसम्म ७५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्। आलु खरिदकै लागि पोखरा र छिमेकी गाउँपालिका मात्र नभई चितवन, स्याङ्जा, तनहुँ, मुस्ताङ, सुनसरी र रुपन्देहीसम्मका मानिसहरू विष्णुपादुका खेल मैदान पुग्ने गरेका छन्।
महोत्सवमा कृषितर्फ ३० र व्यापारिकतर्फ १०० भन्दा बढी स्टलहरू रहेका छन्। जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरिता कुमालले आफ्नै फार्मबाट स्थानीय अनदी र मार्सी चामल लगायतका सामग्री बिक्री गरिरहेकी छिन्। घरायसी सामग्री र स्थानीय कृषि उपजको व्यापारबाट व्यापारीहरू उत्साहित देखिएका छन्।
बिहीबार दिउँसो झरी परे पनि दर्शकहरूले छाता ओढेरै महोत्सवलाई साथ दिएका थिए। कलाकारहरू श्याम राना, तारापति सुवेदी, पार्वती जिसी लगायतले सांगीतिक प्रस्तुति दिएका थिए भने रत्यौली प्रतियोगिता र साँझको कन्सर्टले युवा पुस्तालाई झुमाएको थियो।
महोत्सवका सचिव विपीन पौडेलका अनुसार आज (शुक्रबार) एलिना चौहान, चोलेन्द्र पौडेल, विष्णु ढुङ्गाना लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ। गत चैत २७ गतेदेखि सुरु भएको यो महोत्सव भोलि समापन हुनेछ।
