सहकारीहरू अर्थतन्त्रका बलियो खम्बा हुन् : मन्त्री कार्की

Share:

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम बहादुर कार्कीले सहकारी क्षेत्रलाई अर्थतन्त्रको बलियो खम्बाको रूपमा व्याख्या गरेका छन् । सहकारी क्षेत्रको सुदृढीकरणका लागि सरकार र सहकारी अभियानबीच बलियो सहकार्य आवश्यक रहेको उनले बताए।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आयोजनामा पोखरामा सुरु भएको सहकारीको समग्र अवस्था, नियामकीय मापदण्डको कार्यान्वयन र निर्देशन सम्बन्धी प्रदेश स्तरीय तालिम तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले उक्त कुरा बताएका हुन्।

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका नकारात्मक क्रियाकलापप्रति चिन्ता व्यक्त गर्दै मन्त्री कार्कीले केही संस्थाका कारण समग्र क्षेत्रले नै आरोप खेप्नुपरेको बताए।

“सबै सहकारी खराब छैनन्, तर केहीको गल्तीले गर्दा इमानदार संस्थाहरू पनि ओझेलमा परेका छन्,” उनले भने। सहकारी क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने संकल्प गर्दै उनले सरोकारवालाका सुझाव समेटेर कार्ययोजना र नीति निर्माण गर्ने प्रतिबद्धता समेत जनाए।

कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले नेपालको आर्थिक र सामाजिक विकास, विशेष गरी महिला सशक्तीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।

उनले सहकारीमा सुशासन र पारदर्शिता सुनिश्चित गर्न नियमनकारी निकायहरूको भूमिका अझ स्पष्ट हुनुपर्नेमा जोड दिए।

दुई दिनसम्म चल्ने यस अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका सहकारी प्रतिनिधिहरूको सहभागिता रहेको सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका प्रतिनिधि भेषराज रिजालले जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य रमेश प्रसाद चौलागाई लगायतले सहकारीका विविध आयामबारे प्रशिक्षण दिनेछन्।

तालिममा सहकारीको नियमन व्यवस्था, सुशासन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण, वित्तीय स्रोत संकलन, लगानी तथा ऋण असुली र सम्पत्ति शुद्धीकरण जस्ता प्राविधिक विषयहरूमा गहन छलफल र अभिमुखीकरण गरिने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: