पोखरा उद्योग वाणिज्य संघद्वारा हङकङ चेम्बरका महासचिव गुरुङको स्वागत तथा सम्मान

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्नो भगिनी संस्था नेपाल चेम्बर अफ कमर्स हङकङका महासचिव ड्यानी वरदान गुरुङको स्वागत तथा सम्मान गरेको छ। पारिवारिक भेटघाट तथा विशेष कामका लागि पोखरा आएका गुरुङलाई संघका अध्यक्ष गोकर्ण कार्कीसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरूले औपचारिक रूपमा स्वागत गरेका हुन्। उक्त जानकारी संघकी महासचिव शोभा गौतमले दिइन्।

कार्यक्रममा बोल्दै अध्यक्ष गोकर्ण कार्कीले पोखरा तथा समग्र नेपालको आर्थिक विकासका लागि हङकङस्थित उद्योगी, व्यवसायी र नेपाली समुदायसँग सहकार्य आवश्यक रहेको बताए। उनले पोखरामा उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य तथा साहसिक पर्यटनका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै हङकङ चेम्बरसँग सहजीकरणका लागि अनुरोध गरे।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्स हङकङका महासचिव ड्यानी वरदान गुरुङले दुवै संस्थाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै द्विपक्षीय लगानी साझेदारी र नयाँ लगानी क्षेत्रको खोजीमा सहकार्य गर्न आफूहरू तयार रहेको धारणा राखे।

पोखरा उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्स हङकङबीच सन् २०१८ मा आपसी सहयोग आदानप्रदानसम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो। साथै, करिब तीन वर्षअघि हङकङ चेम्बरको १५औँ वार्षिकोत्सवमा संघका तत्कालीन अध्यक्ष पवन प्रजापति सहभागी हुँदा उक्त सहकार्यलाई अझ विस्तार गर्ने सहमति भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: