
पोखरा । आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी प्रावधान बुझ्ने उद्देश्यले आयोजित तालिममा सहभागी व्यवसायीहरूलाई मानसिक स्वास्थ्य र सेवा भावले व्यावसायिक सफलतामा महत्त्वपूर्ण भूमिका खेल्ने सन्देश दिइएको छ।
पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्थाको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) को सहकार्यमा आयोजना गरेको आयकर, भ्याट तथा संघ-संस्था व्यवस्थापनसम्बन्धी तालिममा वक्ताहरूले व्यवसाय र मानसिक सन्तुलनबीचको सम्बन्धबारे प्रकाश पारे।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै रामजी अधिकारीले शरीर स्वस्थ र मन शान्त नभएसम्म व्यवसायमा दीर्घकालीन सफलता हासिल गर्न कठिन हुने बताए। मानव सेवा क्षेत्रमा सक्रिय अधिकारीले सेवा भाव, सकारात्मक सोच र मानसिक सन्तुलनले व्यवसायिक उन्नतिमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरे। “व्यवसायीको उद्देश्य नाफा कमाउनु हो, तर त्यसमा सेवा भाव पनि आवश्यक छ,” उनले भने।
उनले आम्दानी-खर्चको हिसाब व्यवस्थापनसँगै मनको व्यवस्थापनमा पनि ध्यान दिनुपर्नेमा जोड दिँदै मानसिक शान्तिले कामप्रतिको ऊर्जा र निर्णय क्षमता बढाउने धारणा राखे।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोकर्ण कार्कीले करसम्बन्धी ज्ञानले व्यवसायीलाई सम्भावित जरिवाना र कानुनी जटिलताबाट जोगाउनुका साथै जिम्मेवार नागरिक बन्न सहयोग गर्ने बताए। उनले संघले नीतिगत पैरवी, तालिम तथा परामर्श कार्यक्रमलाई निरन्तर अघि बढाइरहेको जानकारी दिए।
संघकी महासचिव शोभा गौतमले जीआइजेडसँगको सहकार्यमा उद्योगी-व्यवसायीका लागि हालसम्म १४ वटा यस्ता तालिम सञ्चालन गरिसकेको जानकारी दिइन्। तालिममा चार्टर्ड एकाउन्टेन्ट विवेक श्रेष्ठले आयकर, भ्याट तथा कर व्यवस्थापनका विविध पक्षबारे सहभागीहरूलाई प्रशिक्षण दिएका थिए। कार्यक्रममा एक सयभन्दा बढी उद्योगी तथा व्यवसायीको सहभागिता रहेको थियो।
