
पोखरा । पोखरा महानगरपालिकाले श्रम तथा रोजगारसम्बन्धी सेवा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्न ‘श्रम संसार’ प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुन आग्रह गरेको छ।
महानगरपालिकाले २०८३ वैशाख ९ गते सूचना जारी गर्दै नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार सार्वजनिक सेवा प्रवाहलाई डिजिटल बनाउँदै एकद्वार प्रणालीमार्फत सेवा सञ्चालन गर्न लागिएको जनाएको हो।
यसअन्तर्गत पोखरा महानगरपालिका भित्र सञ्चालनमा रहेका निजी क्षेत्र, रोजगारदाता, रोजगार एजेन्सी, तालिम प्रदायक संस्था, सहकारी तथा गैरसरकारी संस्थाहरूलाई आगामी वैशाख १५ गतेभित्र उक्त प्रणालीमा आबद्ध भई श्रम तथा रोजगारसम्बन्धी सूचना, रोजगारी तथा तालिमका अवसरहरू अनिवार्य रूपमा प्रकाशन गर्न निर्देशन दिइएको छ।
महानगरपालिकाले ‘श्रम संसार’ को वेबसाइट, नागरिक एप तथा मोबाइल एपमार्फत दर्ता गर्न सकिने जानकारी दिँदै थप जानकारीका लागि श्रम तथा रोजगार शाखामा सम्पर्क गर्न समेत आग्रह गरेको छ।

