महिला उद्यमीलाई लक्षित आयकर र भ्याट तालिम पोखरामा सम्पन्न

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य संघले महिला उद्यमीहरुलाई लक्षित गर्दै आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी तालिम सम्पन्न गरेको छ।

बुधबारदेखि सुरु भएको उक्त तालिममा पोखरा तथा आसपासका क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका करिब १ सय महिला उद्यमीहरुको सहभागिता रहेको थियो।

तालिममा चार्टर्ड एकाउन्टेन्ट विवेक श्रेष्ठले करका विभिन्न आयामबारे प्रशिक्षण दिएका थिए भने मानव सेवा आश्रम पोखराका प्रमुख रामजी अधिकारीले स्वस्थ मन र शरीरका लागि अपनाउनुपर्ने जीवनशैलीबारे जानकारी गराएका थिए। संघकी महासचिव शोभा गौतमका अनुसार तालिमले महिला उद्यमीहरुलाई कर सम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुगेको छ।

तालिमको उद्घाटन तथा समापन कार्यक्रममा संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी तथा व्यवसायीको हितमा संघले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमबारे जानकारी दिँदै नयाँ व्यवसाय सुरु गर्न इच्छुकहरुलाई आवश्यक सहयोग गर्न संघ प्रतिबद्ध रहेको बताए।

उक्त तालिम GIZको सहयोगमा सञ्चालन गरिएको ‘दीगो विकासका लागि राजश्व सुधार परियोजना’ अन्तर्गत आयोजना गरिएको हो।

बिहीबार सम्पन्न समापन कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा अतिथिहरुको उपस्थितिमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको तालिम संयोजक एवं महासचिव गौतमले जानकारी दिइन्।

कमेन्ट गर्नुहोस्
Share: