
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट पूर्ण रूपमा अमेरिकी नियन्त्रणमा रहेको दाबी गरेका छन्।ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिकाको अनुमतिबिना उक्त जलमार्गमा कुनै पनि जहाज प्रवेश गर्न नसक्ने बताएका हुन्।
उनले ‘होर्मुज स्ट्रेटमा अमेरिकाको पूर्ण नियन्त्रण छ, अमेरिकी नौसेनाको स्वीकृतिबिना कुनै पनि जहाज त्यहाँ जान सक्दैनन्’ भन्दै इरान सम्झौतामा नआउन्जेल उक्त क्षेत्र पूर्ण रूपमा बन्द रहने दाबी गरेका छन्।
यससँगै ट्रम्पले इरानभित्र नेतृत्वबारे अन्योल रहेको टिप्पणी गर्दै कट्टरपन्थी र उदारवादीबीच तीव्र द्वन्द्व भइरहेको दाबी पनि गरेका छन्।
यता, जापानस्थित इरानी दूतावासले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पको भनाइको कडा खण्डन गरेको छ। दूतावासले ट्रम्पको दाबीलाई ‘पागलपन’को संज्ञा दिँदै वास्तविकतासँग असम्बद्ध रहेको प्रतिक्रिया जनाएको छ।
होर्मुज स्ट्रेट विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक मानिन्छ, जसलाई लिएर विश्व राजनीतिमा बेला–बेला तनाव सिर्जना हुने गरेको छ।
