
पोखरा। परम्परागत रूपमा वैवाहिक वर्षगाँठ तारे होटल वा भड्किलो कार्यक्रम गरेर मनाउने चलनमा पछिल्लो समय परिवर्तन देखिन थालेको छ। व्यक्तिगत खुसीलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उदाहरण प्रस्तुत गर्दै पोखराका पत्रकार घनश्याम पाण्डेले आफ्नो वैवाहिक जीवनको २५औँ वर्षगाँठ पोखरास्थित वृद्धाश्रममा जेष्ठ नागरिकहरूसँग मनाएका छन्।
पाण्डेले वृद्धाश्रममा आश्रित ५० जना विपन्न, असहाय तथा अपहेलित अवस्थामा रहेका जेष्ठ नागरिकका लागि बिहानको भोजनको व्यवस्था गर्नुका साथै उनीहरूसँग समय बिताएका थिए। वृद्धाश्रमका अध्यक्ष केशव पराजुलीका अनुसार जीवनको उत्तरार्धमा सहारा र अपनत्वको खोजीमा रहेका जेष्ठ नागरिकहरूसँग यस्ता कार्यक्रमले भावनात्मक सम्बन्ध बलियो बनाउनुका साथै समाजमा सकारात्मक सन्देश दिन्छ।
उनले व्यक्तिगत खुसीलाई समाजसँग बाँड्ने संस्कारको विकास हुँदै गएको उल्लेख गर्दै पछिल्लो समय बढ्दो खर्चिलो प्रवृत्तिबाट टाढा रहँदै सामाजिक कार्यतर्फ आकर्षण बढ्नु सकारात्मक संकेत भएको बताए। पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले यस्ता कार्यहरूले समाजमा सहयोग, सहानुभूति र मानवियताको भावना प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकलाई सक्रिय बनाउन तरकारी खेतीतर्फ आकर्षण बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। यसैगरी, जानकी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले सानोतिनो सहयोगले पनि वृद्धाश्रम सञ्चालनमा ठूलो योगदान पुग्ने बताउँदै सामाजिक सेवामा समर्पित हुने क्रम बढिरहेको उल्लेख गरे।
पत्रकार पाण्डेले पारिवारिक सल्लाहअनुसार वृद्धाश्रममै वर्षगाँठ मनाउँदा आत्मसन्तुष्टि मिलेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
