
पोखरा। कास्कीमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अधिकार संरक्षणका लागि नयाँ सरोकार समिति गठन गरिएको छ। पोखरामा शनिबार आयोजित संयुक्त भेलाले भुमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन सुनिश्चित गर्न ३५ सदस्यीय समिति गठन गरेको हो। भेलामा राष्ट्रिय भूमि अधिकार मञ्च कास्की, अखिल नेपाल सुकुम्बासी संघ कास्की र भूमिअधिकार तथा श्रमिक संगठन नेपाल कास्कीको सहभागिता रहेको थियो।
समितिको संयोजकमा प्रेमबहादुर गुरुङ चयन भएका छन् भने सहसंयोजकमा रमेश बलकोटी, सचिवमा राजनकुमार गुरुङ, सहसचिवमा कमल खड्का र कोषाध्यक्षमा बेलमाया गुरुङ रहेका छन्। त्यस्तै सल्लाहकारमा ओमबहादुर पौडेल, राम लामिछाने, अर्जुन मल्ल र डिलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ। समितिमा आवश्यकता अनुसार भौगोलिक क्षेत्र मिलाएर थप सदस्य समावेश गर्ने योजना समेत बनाइएको छ।
नवनिर्मित समितिले भुमिहिन तथा सुकुम्बासी समुदायको वैकल्पिक व्यवस्थापन बिना हटाउन नदिने, उनीहरुको बसोबास अधिकार सुरक्षित गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने र भूमि सम्बन्धी समस्या समाधानका लागि दबाब सिर्जना गर्ने लक्ष्य लिएको छ। साथै, विद्यमान भूमि ऐन संशोधनका लागि पहल गर्ने र माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी पनि समितिले दिएको छ।
