
पोखरा। राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८३ को अवसरमा नेपाल फोटो पत्रकार संघ, कास्कीले जनआन्दोलन, भूकम्प र जेनजी आन्दोलनसम्बन्धी तस्बिरहरूको प्रदर्शनी आयोजना गरेको छ । पोखरा महानगरपालिका वडा नं. ३ को सहयोगमा आइतबार पोखरा–३ नदीपुरस्थित कोर्टयार्ड प्रांगणमा ‘फोटोमा ६२, ७२ र ८२’ शीर्षकमा प्रदर्शनी गरिएको हो ।
पछिल्ला तीन दशकमा प्रत्येक १० वर्षको अन्तरालमा भएका महत्वपूर्ण घटनाहरूलाई फोटोमार्फत प्रस्तुत गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा २०६२/०६३ को जनआन्दोलन, २०७२ सालको भूकम्प र २०८२ सालको जेनजी आन्दोलनका तस्बिरहरू राखिएका छन् ।
प्रदर्शनीको उद्घाटन पोखरा-३ का वडाध्यक्ष प्रकाशमान उदासले गरेका थिए । उनले तस्बिर केवल हेर्ने वस्तु मात्र नभई अनुभूति गराउने माध्यम भएको उल्लेख गर्दै फोटो पत्रकारको एक क्लिकले इतिहास बोल्ने बताए । तस्बिरहरूले समाजलाई जानकारी दिनुका साथै भावनात्मक रूपमा पनि जोड्ने उनको भनाइ थियो ।
त्यस्तै, पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले अक्षरभन्दा तस्बिरले धेरै कुरा बुझाउन सक्ने धारणा राख्दै यस्ता जनचेतनामूलक प्रदर्शनी अन्य स्थानमा पनि विस्तार गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल तथा महासंघका पूर्व उपाध्यक्ष गंगाधर पराजुलीलगायतले फोटो पत्रकारिताले समाचारलाई थप विश्वसनीय बनाउने भएकाले फोटो पत्रकारहरू मेहनती, संघर्षशील र सिर्जनशील हुनुपर्नेमा जोड दिए ।
कार्यक्रम संयोजक तथा संघकी सहसचिव दुर्गा रानामगरका अनुसार फोटो पत्रकारिता दिवसको अवसरमा ऐतिहासिक घटनाहरूलाई फोटोमार्फत प्रस्तुत गरी नयाँ पुस्तालाई देशले भोगेका संघर्ष र परिवर्तनबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।
वि.सं. १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलो पटक फोटो समाचार प्रकाशित भएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको प्रदर्शनीमा कास्कीका फोटो पत्रकारहरूले खिचेका करिब १ सय तस्बिरहरू प्रदर्शन गरिएको संस्थाका अध्यक्ष राम गुरुङले जानकारी दिए । उनले यस्ता कार्यक्रममार्फत इतिहासलाई जीवन्त रूपमा प्रस्तुत गर्दै आगामी वर्षहरूमा पनि रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।



