
पोखरा । स्थानीय तहका जनप्रतिनिधिहरूसँग बीमा तथा पञ्जीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति कास्की को संयोजनमा आयोजित कार्यक्रमको उद्घाटन समितिका प्रमुख लिलाधर पौडेल ले गरेका थिए।
उद्घाटन मन्तव्यमा पौडेलले बीमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै कृषकसम्म बीमा सेवाको पहुँच विस्तार गर्न सबै बीमा सेवा प्रदायक संस्था सक्रिय हुनुपर्ने बताए।
उनले बीमा दाबी र भुक्तानी प्रक्रियामा देखिएका जटिलताप्रति सर्वसाधारणको गुनासो रहेको उल्लेख गर्दै प्रक्रिया सरल र प्रभावकारी बनाउन सरकारी निकाय तथा नियामक नेपाल बीमा प्राधिकरण ले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल बीमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय का प्रमुख शम्भु प्रसाद मिश्र ले नेपालमा कृषि बीमाको व्यवस्था, विद्यमान कानुनी प्रावधान, अनुदान, बीमा शुल्क तथा दाबी-भुक्तानी प्रक्रियाबारे विस्तृत जानकारी गराए।
त्यसैगरी कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल ले नागरिकता, राहदानी तथा पञ्जीकरणसँग सम्बन्धित समस्या र समाधानका विषयमा सहजीकरण गरेका थिए।
कार्यक्रममा रूपा गाउँपालिका- २ वडाध्यक्ष राजन सुबेदी र माछापुच्छ्रे गाउँपालिका का प्रमुख कार्यकारी अधिकृत केशब सुबेदी लगायतले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गरेका थिए।
कार्यक्रममा कास्कीका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, बीमा कम्पनीका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
शम्भु प्रसाद मिश्र को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बराल ले गरेका थिए भने स्वागत मन्तव्य कविता पाण्डे ले व्यक्त गरेकी थिइन्।
