पोखरामा पहिलो पटक महिला गोल्डकप: चार शीर्ष क्लबको प्रतिस्पर्धा, विजेतालाई ५ लाख

Share:

पोखरा । पोखरामा पहिलो पटक आयोजना हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगिताले महिला फुटबलको विकासतर्फ महत्वपूर्ण कदम चालेको छ।

आर एस फुटबल क्लबको आयोजनामा हुने यस प्रतियोगितामा आरएस पोखरा फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब र त्रिभुवन आर्मी क्लब गरि चार प्रमुख क्लबहरूको सहभागिता रहनेछ ।

प्रतियोगिता वैशाख १८ देखि २० गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन खेलमा आयोजक आरएस पोखरा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन्। प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ।

पोखरामा यसअघि महिला गोल्डकप आयोजना नभएको सन्दर्भमा यो प्रतियोगिता विशेष महत्वको छ। गण्डकी प्रदेशले सावित्रा भण्डारी (साम्बा) र विमला बिकजस्ता प्रतिभाशाली खेलाडी उत्पादन गरे पनि महिला प्रतियोगिताको अभाव रहेको अवस्थामा यो पहल स्वागतयोग्य मानिएको छ।

क्लबका अध्यक्ष रमेश कार्कीका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उनले महिला फुटबलको बढ्दो लोकप्रियता र राष्ट्रिय टोलीका खेलमा दर्शकको उत्साहजनक उपस्थितिले यस क्षेत्रको सम्भावना देखाएको बताए।

साथै, क्लबको दीर्घकालीन लक्ष्य राष्ट्रिय उपाधि जित्ने र युवा खेलाडीलाई खेलसँगै शिक्षा प्रदान गर्ने रहेको पनि उनले स्पष्ट पारे।

पुरस्कारतर्फ विजेताले नगद ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ। उत्कृष्ट खेलाडीलाई ३० हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार तथा अनुशासित टिमलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ।

कमेन्ट गर्नुहोस्
Share: