
पोखरा । कास्कीको पोखरा महानगरपालिका-१८ लामागाउँबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार (हिजो) वैशाख १७ गते साँझ करिब ५ बजेको समयमा लागू औषधको कारोबार भइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा स्याङ्जा स्थायी घर भई हाल लामागाउँ बस्दै आएका २६ वर्षीय सुविन थापा मगर र कास्कीको अन्नपूर्ण गाउँपालिका–लुम्ले घर भई हाल सोही क्षेत्रमा बस्दै आएका २७ वर्षीय अर्जुन सुनार रहेका छन्। उनीहरूको साथबाट लागू औषध ट्यापेन्टाडोल ट्याब्लेट १०० चक्की र दुई थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
