
पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले विभिन्न क्षेत्रमा योगदान पुर्याएका १४ जना युवालाई नगदसहित सम्मान गरेको छ। गण्डकी प्रदेशस्तरीय ‘युवा प्रतिभा सम्मान’ कार्यक्रमअन्तर्गत बिहीबार आयोजित समारोहमा कृषि, कला, उद्यम, सञ्चार, अध्ययन-अनुसन्धान लगायतका क्षेत्रमा सक्रिय ४० वर्षमुनिका युवाहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा सञ्चार क्षेत्रबाट पत्रकार कविता श्रेष्ठ, अध्ययन-अनुसन्धानतर्फ डा. राजकुमार थापा, स्वास्थ्य क्षेत्रबाट डा. शिशिर देवकोटा, शिक्षा क्षेत्रबाट अग्निधर भुसाल, युवा सशक्तीकरण तथा नेतृत्व विकासतर्फ पवन भट्टराई, कला क्षेत्रमा ज्योति गुरुङ र हेमकान्ति गुरुङ, खेलकुदतर्फ रेखमाया गुरुङ, गीत-संगीतबाट सन्तोष बस्याल, सूचना प्रविधि तथा उद्यमशीलताबाट महेश गौतम, उद्यमशीलता तथा पर्यटन प्रवर्द्धनतर्फ अर्जुन भण्डारी, सामाजिक विकास तथा सुधारतर्फ सौगात वाग्ले, उद्यमशीलता तथा रोजगारीतर्फ दीपक कार्की तथा समाजसेवा र स्वयंसेवातर्फ अंशु शेर्पा रहेका छन्।
उनीहरूलाई सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, मन्त्रालयका सचिव डा. शेषनारायण पौडेल लगायतले सम्मान गरेका थिए। मन्त्रालयका अनुसार पुरस्कारका लागि आवेदन आह्वान गरिएकोमा १६ जनाको आवेदन परेकामा मूल्याङ्कन समितिले १४ जनालाई छनोट गरेको हो।
कार्यक्रममा बोल्दै सचिव डा. पौडेलले युवा उमेरले मात्र नभई सोच र दृष्टिकोणले निर्धारण हुने बताए। उनले युवामा सकारात्मक सोच, सिर्जनशीलता, अनुशासन र इमान्दारिता आवश्यक पर्नेमा जोड दिए। सम्मानितहरूको तर्फबाट गण्डकी विश्वविद्यालयका उपप्राध्यापक डा. राजकुमार थापा र सञ्चारकर्मी कविता श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन नारायणप्रसाद बास्तोलाले गरेका थिए।
