
काठमाडौं । रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोपमा एक दलित महिलामाथि अत्यन्तै अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ। कटहरिया-९ निवासी करिब ५५ वर्षीया पूर्ववडा सदस्य अंकलिया देवी मुसहरिनलाई स्थानीय केही व्यक्तिहरूले बलपूर्वक मानव मलमूत्र खुवाएको आरोप लागेको हो।
शनिबार साँझ करिब ७ बजे डूमरिया मुसहरी टोलमा भएको घटनाअनुसार छिमेकी पुकार माझीको घरमा आयोजित विवाह समारोहमा सहभागी एक १० वर्षीय बालकले अचानक बान्ता गरेपछि त्यसैलाई निहुँ बनाएर महिलामाथि ‘जादुटुना गरेको’ आरोप लगाइएको थियो। त्यसपछि केही व्यक्तिहरूको समूहले उनीमाथि आक्रमण गर्दै जबरजस्ती मलमूत्र खुवाएको बताइएको छ।
पीडितकी छोरी सुमिला देवी मुसहरिनका अनुसार आमा-छोरी मात्र घरमा रहेका बेला एक्कासि भीड घरभित्र पसेर अंकलिया देवीलाई समातेर बोतलमा घोलेर ल्याइएको मलमूत्र जबरजस्ती खुवाइएको थियो। विरोध गर्दा आफूहरूमाथि कुटपिटसमेत गरिएको उनले बताइन्।
घटनापछि इलाका प्रहरी कार्यालय कटहरियाबाट पुगेको टोलीले अचेत अवस्थामा रहेकी महिलाको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएको थियो। उपचारपछि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
इप्रका कटहरियाका सई मोहन आले मगरका अनुसार आरोपितहरूलाई पक्राउ गर्न जाँदा स्थानीय भीडले प्रहरीमाथि नै आक्रमण गर्ने प्रयास गरेको थियो। हाल पीडितलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ भने घटनामा संलग्नहरूको खोजी तीव्र पारिएको छ।
इप्रका गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले शंकर माझी मुसहरलाई पक्राउ गरिएको र अन्य आरोपितहरूको खोजी भइरहेको जानकारी दिए। उनले घटनाको गम्भीर अनुसन्धान भइरहेको र दोषीलाई कानुनअनुसार कडा कारबाही गरिने बताए।
पीडित परिवारका अनुसार घटनामा पुकार माझी मुसहर, राजेन्द्र माझी मुसहर, लक्ष्मी माझी मुसहर, शंकर माझी मुसहर, सुरेन्द्र ठाकुर लोहार र गौरी साह कलवार लगायतको संलग्नता रहेको छ।
