
पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लाभर सञ्चालनमा रहेका बहुवर्षीय अधुरा तथा रुग्ण आयोजनाहरूलाई प्राथमिकतासहित आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम र बजेटमा समावेश गर्न नेपाल सरकारसँग कडा आग्रह गरेको छ। मंगलबार सम्पन्न समितिको ४८औँ बैठकले विगतका बजेटमा समेटिए पनि विभिन्न कारणले अलपत्र परेका करिब दुई दर्जन आयोजनालाई पर्याप्त बजेट विनियोजन गरी यथाशीघ्र सम्पन्न गर्ने गरी अघि बढाउन सिफारिस गर्ने निर्णय गरेको हो।
समिति प्रमुख लीलाधर पौडेलका अनुसार निर्माण कम्पनीको ढिलासुस्ती, बजेट अभाव लगायत अवरोधक कारण पहिचान गर्दै ती आयोजना पूरा गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। प्राथमिकतामा राखिएका आयोजनामध्ये पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको भवन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, सराङकोट स्वास्थ्य चौकी र भगरा कृषि सडक मोटरबाटो निर्माण रहेका छन्।
त्यस्तै, सेती नदीमाथि निर्माणाधीन विभिन्न पुलहरू-बगर-फूलबारी, मुसेटूडा पावर हाउस, दम्सादी, विजयपुर खोला, भुरुङ्दी, दोबिल्ला घाट र फिर्के खोलाका पुल-समेत ढिलाइका कारण तत्काल अघि बढाउन सरकारलाई आग्रह गरिएको छ। यसका साथै मुग्लिङ-पोखरा सडक स्तरोन्नतिको बाँकी काम, मध्यपहाडी लोकमार्गको कास्की खण्ड तथा लमजुङ-कास्की सीमा क्षेत्रमा ट्रयाक खोल्ने कार्यलाई पनि तीव्रता दिनुपर्नेमा जोड दिइएको छ। बैठकले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान विस्तारका लागि महेन्द्रनगर र नेपालगञ्ज हुँदै हवाई पहुँच विस्तार गर्न कूटनीतिक पहल आवश्यक रहेको औंल्याएको छ।
