
विग न्यूज
पोखरा, १८ मंसिर । विग एफएमले विभिन्न अवसरमा संचालन गर्दै आएको रेडियो ईभेन्टहरुका विजेतालाई शुक्रबार एकैसाथ पुरस्कार वितरण गरेको छ । तिजको अवसर पारेर आयोजना गरेको ‘विग तिज विग धमाका’ र दशैँको अवसरमा आयोजना गरेको ‘महा आजिजा’का विजेताहरुलाई शुक्रबार उसले एफएम परिसरमै पुरस्कार वितरण गरेको हो ।
एफएमले दिएको जानकारी अनुसार विग तिज विग धमाका अन्तरगत एक जना बम्पर पुरस्कार विजेता र ९ जना विजेताहरुले पुरस्कार प्राप्त गरे । सो ईभेन्ट अन्तरगत कमला राईले बम्पर पुरस्कार प्राप्त गरेकी थिईन् । बम्पर पुरस्कार स्वरुप उनले सुनको बाला प्राप्त गरिन् । अन्य ९ जना विजेताले भने नगद २ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
विग तिज विग धमाका रेडियो गेम शोलाई ‘फेयर एण्ड लभ्ली वल्र्ड च्यालेन्ज’ले प्रायोजन गरेको थियो । पुरस्कार वितरणको क्रममा यूनिलिभरका रिजनल सेल्स अफिसर राजेश गुरागाँई र टेरिटोरी सेल्स ईन्चार्ज अश्विन अर्याल समेत सहभागी थिए । पुरस्कार वितरण गर्दै उनीहरुले वर्षेनी विग एफएमसँग उसले गर्ने ईभेन्टमा व्यवसायीक सहकार्य गर्न पाउँदा खुशि लागेको बताए । एफएमसँग नियमित रुपमा व्यवसायिक सहकार्य गर्दा कम्पनीको उत्पादनलाई ब्राण्डिङ गर्न पनि सघाऊ पुगेको उनीहरुले बताए ।
यस्तै दशैँको अवसरमा संचालन भएको रेडियो ईभेन्ट महा आजिजा अन्तरगत १३ जनाले पुरस्कार प्राप्त गरे । महा आजिजा अन्तरगत स्याङ्जाकी सोनु थापाले सर्वाधिक पुरस्कार प्राप्त गरिन् । महा आजिजामा सोधिएको प्रश्नहरुको सहि उत्तर दिएर उनले १३ हजार रुपैयाँ जितेकी थिईन् । पुरस्कार प्राप्त गरिसकेपछि विग एफएले संचालन गर्ने ‘महा आजिजा’ नामको रेडियो गेम शोले स्रोताहरुको सामान्य ज्ञान बढाउन भुमिका खेलेको प्रतिक्रिया दिईन् ।
यो पटकको ‘महा–आजिजा’लाई एक्सेस एजुकेशन नेटवर्कले प्रायोजन गरेको थियो । शुक्रबार विजेताहरुलाई पुरस्कार वितरण गर्ने क्रममा नेटवर्कका ब्रान्च डाईरेक्टर राजन भण्डारी र सिनियर काउन्सिलर विजय अधिकारी समेत सहभागी थिए । ‘शिक्षाको क्षेत्रमा काम गर्ने हामीहरुले शैक्षिक ज्ञान वृद्धि गर्ने खालको रेडियो गेम शोमा प्रायोजन गर्दा हामीलाई व्यवसायिक हिसाबले फाईदा पुगेको छ ।’ नेटवर्कका सिनियर काउन्सिलर अधिकारीले भने–‘आगामी दिनमा पनि विग एफएमसँगको सहकार्यले निरन्तरता पाउनेछ ।’
कार्यक्रममा विग एफएमका अध्यक्ष महेश भण्डारीले सम्पूर्ण विजेताहरुलाई बधाई दिनुसँगै प्रायोजकहरुलाई कार्यक्रम सफल बनाउन भुमिका खेलेकोमा धन्यबाद ज्ञापन गरे । उनले यस्तै व्यवसायिक सहकार्य भएकै कारण विग एफएमका हरेक ईभेन्ट विशेष खालको हुने गरेको प्रस्ट पारे ।
विग एफएमले चाँडै नै आफ्नो ग्राण्ड ईभेन्ट विग आईकन समेत आयोजना गर्दैछ । छैठौँ सँस्करणको विग आईकनको लागि यतिबेला निशुल्क रुपमा आवेदन फाराम वितरण भैरहेको एफएमले जनाएको छ ।
