
पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका-८, ल्वाङ गाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम सम्पन्न भएको छ । संवादको अन्तिम सत्रमा ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ विषयमा केन्द्रित रहेर कन्टेन्ट क्रियटरहरू इस्टु कार्की र महेश भण्डारीसँग पत्रकार सन्ध्या थापाले गहन छलफल गरिन् ।
छलफलका क्रममा इस्टु कार्कीले सिनेमा र सामाजिक सञ्जालमा देखिने सामग्री (कन्टेन्ट) लाई फरक रूपमा हेर्न नहुने तर्क गर्दै सिनेमा आफैँमा एउटा लामो स्वरूपको कन्टेन्ट भएको बताइन् ।
उनले कन्टेन्ट क्रिएसनले गाउँका प्रतिभा र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनुका साथै कलाकारहरूलाई स्वतन्त्र र आत्मविश्वासी बनाउन मद्दत गरेको उल्लेख गरिन्। साथै, आफू पैसाका लागि मात्र नभई समाजमा प्रभाव छोड्ने र परिवर्तन ल्याउने खालका उत्कृष्ट पात्रका लागि मात्र चलचित्रमा अभिनय गर्ने उनको अडान थियो ।
यसैगरी, अर्का वक्ता महेश भण्डारीले मनोरञ्जन वा सन्देश दिने र बिक्न सक्ने जुनसुकै सामग्री कन्टेन्ट भएको बताउँदै यसको अस्तित्व सामाजिक सञ्जालभन्दा पहिले नै रहेको स्पष्ट पारे । उनले कन्टेन्ट क्रियटर आफैँमा लगानीकर्ता, लेखक र निर्देशक समेत हुने हुँदा उनीहरूको जिम्मेवारी ठूलो हुने बताए ।
“जुन कुरा बिक्न सक्छ, सेयर हुन सक्छ, र जसमा मनोरञ्जन वा सन्देश हुन्छ, त्यही नै कन्टेन्ट हो,” उनले भने ।
उनका अनुसार कन्टेन्ट क्रियटर केवल भिडियो बनाउने व्यक्ति मात्र होइन, आफैँमा लगानीकर्ता, लेखक र निर्देशक पनि हुन्, त्यसैले यसको जिम्मेवारी झन् ठूलो हुन्छ ।
उनले उदाहरण दिँदै भने, “ज्ञानेन्द्र शाह वा केपी शर्मा ओलीका केही भिडियो जनतासँग भावनात्मक रूपमा जोडिने भएकाले नै ती सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन्।”
कलाकारितामा प्यासन (जुनून) सँगै आर्थिक पक्ष पनि महत्वपूर्ण हुने यथार्थलाई स्वीकार्दै भण्डारीले पैसाको उचित व्यवस्थापन नभए कलाकारहरू पलायन हुने खतरा औँल्याए ।
उनले चलचित्र निर्माणकै चरणदेखि पत्रकार र कन्टेन्ट क्रियटरहरूलाई सहभागी गराउन सके मार्केटिङ र गुणस्तरमा फाइदा पुग्ने सुझाव समेत दिए ।
पत्रकार सन्ध्या थापाले सहजीकरण गरेको उक्त कार्यक्रममा कन्टेन्ट क्रियटरहरूले समाज र राजनीतिमा राख्ने धारणाको ठूलो प्रभाव रहने निष्कर्ष निकालिएको थियो । सहभागीहरूले क्रियटरहरूको सामाजिक उत्तरदायित्व र आचारसंहिताका बारेमा समेत चासो राखेका थिए ।
