लेखनाथ उद्योग वाणिज्य संघद्वारा नवनिर्वाचित आत्रेय र ओझालाई सम्मान

Share:

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न ६०औँ निर्वाचनमा अत्याधिक मतसहित कार्यकारिणी सदस्यमा निर्वाचित भएका संघका पूर्वअध्यक्ष छत्रधर आत्रेय तथा गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित संघका पूर्व वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई लेखनाथ उद्योग वाणिज्य संघले विशेष कार्यक्रम आयोजना गरी बधाई तथा सम्मान गरेको छ।

सम्मान कार्यक्रममा बोल्दै संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले आत्रेय र ओझाको विजयले लेखनाथ उद्योग वाणिज्य संघको गौरव अझ उचो बनाएको बताइन्। उनले नवनिर्वाचित नेतृत्वले व्यवसायीहरूको साझा समस्या केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिइन्।

कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य बाबुराम गिरीले लेखनाथवासीहरूको एकता र सहकार्यकै परिणामस्वरूप यो सफलता हासिल भएको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रूपमा एकजुट हुनुपर्नेमा जोड दिए।

संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण पराजुलीले आत्रेय र ओझाको विजयलाई केवल लेखनाथको मात्र नभई सम्पूर्ण नेपाली उद्योगी-व्यवसायीहरूको जितको रूपमा व्याख्या गर्दै जिम्मेवारीपूर्ण भूमिकामा अघि बढ्न आग्रह गरे।

गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित राजेन्द्र ओझाले सम्पूर्ण उद्योगी-व्यवसायीको विश्वास, साथ र सद्भावकै कारण आफू निर्वाचित हुन सफल भएको बताए। उनले आगामी दिनमा व्यवसायीहरूको भावना र आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित छत्रधर आत्रेयले निर्वाचनमा लेखनाथ उद्योग वाणिज्य संघले खेलेको भूमिकाको प्रशंसा गर्दै व्यवसायीहरूको एकता नै आफ्नो मुख्य शक्ति बनेको बताए। उनले सम्मान कार्यक्रमबाट थप ऊर्जा प्राप्त भएको उल्लेख गर्दै संघको गरिमा उचो बनाउने खालका कार्यमा सक्रिय रहने प्रतिबद्धता जनाए।

संघकी अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: