
पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गएको निर्वाचनमा कांग्रेस भौतिक रूपमा नभई डिजिटल क्षेत्रमा कमजोर बनेर पराजित भएको बताएका छन् ।
पोखरामा बिहीबारदेखि सुरु विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै उनले अब प्रविधिमैत्री संरचनामार्फत पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्ने घोषणा गरे ।
थापाले कांग्रेससँग ९ लाख सक्रिय सदस्य भए पनि उनीहरूसँग व्यवस्थित सम्पर्क प्रणाली नरहेको उल्लेख गर्दै अब प्रत्येक सदस्यलाई डिजिटल आइडी प्रदान गरिने जानकारी दिए ।
“अब पार्टीका कुरा प्रत्येक सक्रिय सदस्यको हातमा सिधै पुग्ने गरी प्रणाली बनाइँदैछ,” उनले भने ।
उनका अनुसार कांग्रेसले पार्टीबाट टाढिएका करिब १० लाख मतदातालाई पुनः आकर्षित गर्ने र नयाँ पुस्तासँग प्रत्यक्ष संवाद विस्तार गर्ने लक्ष्य लिएको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै प्रत्येक निर्वाचन क्षेत्रबाट ३० वर्षमुनिका कम्तीमा तीन युवा र महिलालाई महाधिवेशन प्रतिनिधिमा ल्याउने तयारी भइरहेको उनले बताए ।
थापाले वडाध्यक्षको उम्मेदवार सम्बन्धित वडाकै सक्रिय सदस्यले चयन गर्ने प्रणाली विकास गरिने पनि स्पष्ट पारे । “अब पार्टीलाई प्रविधिसँग जोडेर आधुनिक बनाउनैपर्छ,” उनले जोड दिए ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भौतिक विकास मात्रै विकासको पूर्ण मापदण्ड नभएको उल्लेख गर्दै सामाजिक रूपान्तरणलाई कांग्रेसले प्राथमिकतामा राख्नुपर्ने बताए ।
“बाटो, पुल र बिजुलीले मात्र विकास हुँदैन । घरेलु हिंसा, बाल श्रम र जातीय विभेद कति घट्यो भन्ने पनि हेर्नुपर्छ,” उनले भने । उनले काठमाडौंको टिचिङ अस्पतालमा १० वर्षदेखि छोराको शव कुरेर बसेकी अजित मिजारकी आमाको प्रसंग उल्लेख गर्दै यस्ता सामाजिक न्यायका मुद्दामा कांग्रेसले स्पष्ट अडान लिनुपर्ने बताए ।
प्रधानमन्त्रीलाई संविधान र लोकतान्त्रिक मूल्यभित्र रहेर काम गर्न आग्रह गर्दै शर्माले त्यसो नभए कांग्रेसले साथ दिन नसक्ने चेतावनीसमेत दिए ।
महामन्त्री गुरु घिमिरेले कांग्रेस अब ६०/४० प्रतिशतको भागबन्डाको संस्कृतिबाट मुक्त हुनुपर्ने बताए । “काम नगर्नेहरूलाई जिम्मेवारी दिने परम्परा अन्त्य हुनुपर्छ,” उनले भने ।
उनले कांग्रेस आधुनिक र प्रविधिमैत्री बन्न नसक्दा अपेक्षाअनुसार अघि बढ्न नसकेको टिप्पणी गर्दै नयाँ पुस्ताका लागि पार्टीको ढोका खुला गर्नुपर्ने धारणा राखे ।
‘पार्टी प्रवक्ता देवराज चालिसेले वर्तमान सरकारले ४६ दिनमै ४६ वटा गल्ती गरिसकेको आरोप लगाए । “यो सरकार आफ्नै कमजोरीका कारण ढल्ने अवस्थामा पुगेको छ,” उनले टिप्पणी गरे ।
स्थानीय तहका जनप्रतिनिधिलाई सेवा प्रवाह सुधार्न आग्रह गर्दै उनले “ठूलो बजेटभन्दा पनि सानो व्यवहारले जनताको मन जित्न सकिन्छ” भने ।
‘गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसभित्र भावनात्मक एकता बलियो नभएसम्म पार्टीको उद्देश्यले पूर्ण सफलता नपाउने बताए । “जनताले कांग्रेस एक भएको अनुभूति गर्नुपर्छ,” उनले भने ।
उनले आफ्नो कार्यकालमा कुनै पनि कांग्रेस कार्यकर्ताले शिर झुकाएर हिँड्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाए ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’मा गण्डकी प्रदेशका नेताहरू सहभागी छन् ।
भेलामा स्थानीय तहको कार्यसम्पादन, संगठन सुदृढीकरण र आगामी निर्वाचन रणनीतिबारे छलफल भइरहेको छ ।
