पोखरामा “आइडियाजः फ्युचर लिडर्स अफ पोखरा २०२६” सम्पन्न

Share:

पोखरा। नेपाली युवा उद्यमी मञ्च पोखराले आयोजना गरेको “आइडियाजः फ्युचर लिडर्स अफ पोखरा २०२६” कार्यक्रम सम्पन्न भएको छ। व्यवसाय प्रवर्द्धन केन्द्र तथा पोखरा महानगरपालिकासँगको सहकार्यमा आयोजित कार्यक्रम वैशाख ३० गतेदेखि सुरु भई जेठ ६ गते सम्पन्न भएको हो।

युवा उद्यमशीलता, नेतृत्व विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा ४० जना युवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई व्यवसाय योजना निर्माण, नेतृत्व विकास, प्रस्तुतीकरण कला तथा उद्यमशीलतासम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको अन्तिम दिन आयोजित बिजनेस पिचिङ प्रतियोगितामा ११ समूहले आफ्ना व्यवसायिक अवधारणाहरू निर्णायक मण्डलसमक्ष प्रस्तुत गरेका थिए। प्रतियोगितामा “हिमेत्सा” समूहले एआई शिक्षासम्बन्धी नवीन व्यवसायिक अवधारणा प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेको थियो। समूहले नगद रु. १ लाख पुरस्कार प्राप्त गरेको छ।

त्यसैगरी “होम टु होम सर्भिस” समूह द्वितीय हुँदै रु. ५० हजार, “अर्गानिक साइकल” समूह तृतीय हुँदै रु. ३० हजार तथा “आमा-बा” समूह चौथो हुँदै रु. २० हजार पुरस्कार प्राप्त गर्न सफल भएका छन्। कार्यक्रम संयोजक तथा मञ्चका सदस्य लत्सन राज श्रेष्ठका अनुसार प्रतियोगिताले युवाहरूमा सिर्जनशील सोच र व्यवसायिक आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

यस वर्षको बिजनेस पिचिङ प्रतियोगिताका निर्णायकहरूमा ग्लोबलीहबका प्रमुख सञ्चालन अधिकृत सन्दीप मानन्धर, म्याजेस्टिक लेक फ्रन्ट होटलका अध्यक्ष तथा बिजी बी क्याफेका प्रबन्ध निर्देशक सुनिल बहादुर भट्टराई र मिडटाउन ग्यालरियाका प्रबन्ध निर्देशक निकेश द्वा रहेका थिए। कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको समेत उपस्थिति रहेको थियो।

नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरले “लिडर्स प्रोजेक्ट” पहिलो पटक तत्कालीन अध्यक्ष निरन के.सी.को कार्यकालमा सुरु गरेको थियो। त्यसपछिका संस्करणहरू पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा सञ्चालन हुँदै आएका छन्। यस वर्ष उक्त सहकार्यको तेस्रो संस्करण आयोजना गरिएको हो।

कार्यक्रमका संयोजक लत्सन राज श्रेष्ठ रहेका थिए भने सह-संयोजकको भूमिकामा अस्मित भारी, आयुष्मा श्रेष्ठ र अभिनव धिताल सक्रिय रहेका थिए। कार्यक्रम सफल बनाउन अन्नपूर्ण सिद्धार्थ प्रा.लि., बराही बेकरी, एनएमबी माइक्रोफाइनान्स र इन्फोमेटिक्स कलेजले मुख्य प्रायोजकको रूपमा सहयोग गरेका थिए।

कार्यक्रमको समापनमा मञ्चका अध्यक्ष समेज राज भण्डारीले सहभागी, निर्णायक, प्रायोजक तथा सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले युवाहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता र नवप्रवर्तनप्रति सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: