
पोखरा । फेवातालमा पौडी खेल्ने क्रममा डुबेर पोखराका एक युवकको ज्यान गएको छ । काहुँखोला बस्ने २७ वर्षीय रिवाज गुरुङ तालमा पौडी खेल्दाखेल्दै बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले उनलाई अचेत अवस्थामा तालबाट निकाले पनि अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरे ।
युवक तालमा हराएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्कीबाट उद्धार टोली परिचालन गरिएको थियो ।
सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको नेतृत्वमा १३ जनाको टोली घटनास्थल पुगेको हो । उद्धार टोलीमा विशेषज्ञ डाइभर र डिएम टिम सामेल थिए ।
पर्यटकीय क्षेत्र फेवातालमा युवक डुबेको खबरले रातभर सुरक्षाकर्मी र स्थानीय चिन्तित बनेका थिए ।
सशस्त्रको टोलीले रातभर खोजी कार्य जारी राखेको थियो । निकै मिहिनेतपछि शुक्रबार बिहान ३:३५ बजे उनलाई अचेत अवस्थामा तालबाट बाहिर निकालिएको थियो ।
उनलाई तुरुन्तै उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा चिकित्सकले जाँच गर्दा मृत फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।
गर्मी बढेसँगै तालमा पौडी खेल्नेहरूको संख्या बढे पनि पर्याप्त सावधानी नअपनाउँदा यस्ता दुखद घटना हुने गरेका छन् ।
