फिर्केखोला अतिक्रमण हटाउने अभियान तेस्रो दिन पनि जारी

Share:

पोखरा । फिर्केखोला आसपासका खोला घर तथा अतिक्रमित संरचना हटाउने अभियान तेस्रो दिन पनि जारी रहेको छ। पोखरा महानगरपालिकाको नेतृत्वमा सञ्चालन भइरहेको अभियानअन्तर्गत दोस्रो दिन साना/ठूला गरी ३१ वटा संरचना हटाइएको हो।

महानगरका अनुसार वडा नं. १८ र २ को सीमाक्षेत्रमा रहेका ६ वटा संरचना हटाइएको छ भने वडा नं. ४ र ५ क्षेत्रमा ६ वटा पक्की तथा ३ वटा कच्ची संरचना भत्काइएको छ। त्यसैगरी पहिलो दिन आंशिक रूपमा बाँकी रहेको वडा नं.८ स्थित राधाकृष्ण सामुदायिक भवन पूर्ण रूपमा हटाइएको छ। सो क्षेत्रमा थप ६ वटा पक्की र ९ वटा कच्ची संरचना हटाइएको महानगरले जनाएको छ।

तेस्रो दिनसम्म आइपुग्दा कुल ५१ वटा संरचना हटाइएको छ। अभियानमा ३ वटा जेसिवी र २ वटा एक्स्काभेटर प्रयोग गरिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, महानगरीय प्रहरी बल तथा प्राविधिक कर्मचारीहरूको सक्रिय सहभागिता रहेको छ।

नगर प्रमुख धनराज आचार्यले फिर्केखोलालाई अतिक्रमणमुक्त बनाएपछि आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गरिने बताए । उनका अनुसार क्षेत्रमा साइकल लेन, फुटपाथ, हरियाली प्रवर्द्धन तथा आधुनिक लाइटिङसहित सुरक्षित र व्यवस्थित पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ।

कमेन्ट गर्नुहोस्
Share: