
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने राइड सेयरिङ सेवाका दुई पांग्रे र चार पांग्रे सवारी साधनको नयाँ भाडादर निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ। गत वैशाख २२ गतेको मन्त्रिपरिषद् बैठकबाट ‘राइड सेयरिङ नियमावली’ दोस्रो पटक पारित भएसँगै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले यो भाडादर तय गरेको हो।
यसअघि २०८२ वैशाख ३० गते पहिलो पटक नियमावली पारित भए पनि संघीय सरकारको परिपत्र र यातायात व्यवसायीको आन्दोलनका कारण रोकिएकोमा अहिले परिमार्जनसहित लागू गरिएको हो। नयाँ व्यवस्था अनुसार पेट्रोल र विद्युतीय सवारी साधनका लागि छुट्टाछुट्टै दर तोकिएको छ भने यात्रुलाई अनिवार्य सहुलियत दिनुपर्ने नियमसमेत बनाइएको छ।
नयाँ भाडादर अनुसार चार पांग्रे पेट्रोल सवारी साधनको सुरुवाती भाडा ६० रुपैयाँ र त्यसपछि प्रति किलोमिटर ४८.५ रुपैयाँ कायम गरिएको छ। यसमा २ किलोमिटरसम्मको आधार भाडा १५६.५ रुपैयाँ तोकिएको छ भने सो दुरी पार गरेपछि मात्र दूरीका आधारमा भाडा बढ्दै जानेछ। त्यस्तै, दुई पांग्रे सवारी साधनको सुरुवाती भाडा ३० रुपैयाँ र प्रति किलोमिटर १६.८५ रुपैयाँ निर्धारण गरिएको छ, जसमा १ किलोमिटरसम्मको आधार भाडा ४६.८५ रुपैयाँ लाग्नेछ।
सरकारले पेट्रोलबाट चल्ने सवारीमा १० प्रतिशत र विद्युतीय सवारीमा १५ प्रतिशत अनिवार्य छुट दिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्री गोविन्दबहादुर नेपालीका अनुसार यो तोकिएको भाडा र छुटको व्यवस्था राइड सेयरिङ एपमै अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ र उल्लेखित भाडा बाहेक यात्रुबाट अन्य कुनै पनि अतिरिक्त शुल्क लिन पाइने छैन।
