अनुसन्धानमूलक पत्रकारिता सिक्दै पोखराका पत्रकार, ६० जना तालिममा

Share:

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा अनुसन्धानमूलक लेख लेखन तालिम आइतबारदेखि पोखरामा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर आचार्यले पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार, व्यावसायिक र समयानुकूल बनाउन निरन्तर सिकाइ आवश्यक रहेको बताए। डिग्री प्राप्त गरेपछि सिक्ने प्रक्रिया समाप्त हुन्छ भन्ने धारणा गलत भएको उल्लेख गर्दै उनले पत्रकारिता जस्तो संवेदनशील र गतिशील क्षेत्रमा आबद्ध व्यक्तिहरू सधैं अद्यावधिक रहनुपर्नेमा जोड दिए।

सूचना तथा प्रविधिको तीव्र विकाससँगै विश्वका जुनसुकै घटनाबारे पत्रकारहरू क्षणक्षणमै जानकार हुनुपर्ने चुनौती रहेको उनको भनाइ थियो। समाजलाई मार्गनिर्देशन गर्ने भूमिकामा रहेका पत्रकारहरूले आफूलाई सधैं सक्षम र तयार राख्नुपर्नेमा उनले जोड दिए। पत्रकारहरूको व्यावसायिक विकासका लागि पोखरा महानगरपालिका सदैव सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता पनि उनले व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारितालाई थप व्यावसायिक, प्रभावकारी र परिष्कृत बनाउन अनुसन्धानमूलक लेखन तालिम महत्वपूर्ण हुने बताए। यसअघिका तालिमभन्दा यो कार्यक्रम फरक र विशेष रहेको उनको भनाइ थियो।

महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले पछिल्लो समय पठन संस्कृतिमा आएको ह्रास र समाचारको प्रभावकारितामा देखिएका चुनौतीलाई ध्यानमा राख्दै तालिम आयोजना गरिएको जानकारी दिए। पत्रकारहरूको हकहित र क्षमता अभिवृद्धिका लागि महासंघ निरन्तर सक्रिय रहेको उनले बताए।

जेठ २७ गतेसम्म सञ्चालन हुने तालिममा डा. कुण्दन अर्याल, डा. नवराज पौडेल र डा. कपिल अधिकारीले प्रशिक्षण दिनेछन्। तालिममा पोखराका ६० जना पत्रकारहरूको सहभागिता रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: