बेगनास तालमा डुबेका एक युवकको सशस्त्र प्रहरीद्वारा उद्धार

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नं.३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ।

जिल्ला सिन्धुली घर भई हाल पोखरा-१८ सराङकोटस्थित मामाघरमा बस्दै आएका अन्दाजी २२/२३ वर्षका
कान्छा मगर (नामले चिनिने) बेगनास तालको रेस्क्यु टावर नजिकै पौडी खेल्ने क्रममा आइतबार दिउँसो डुबेर बेपत्ता भएका थिए।

युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक कमल वलीको कमाण्डमा गोताखोर सहित ११ जनाको टोली दिउँसो १६:३५ बजे घटनास्थल तर्फ खटिएको थियो।

सशस्त्र प्रहरीको टोलीले तत्कालै खोजी कार्य सुरु गरी १७:१५ बजे तालको करिब २० फिट गहिराइबाट ती युवकलाई अचेत अवस्थामा फेला पारी बाहिर निकालेको थियो। उद्धार कार्यमा गोताखोरद्वय रमेश हिटन र देवराज खनाल संलग्न थिए ।

तालबाट बाहिर निकालिएका मगरलाई इलाका प्रहरी कार्यालय डाँडाकोनाकबाट प्रहरी नायब उपरीक्षक (प्र.ना.उ) गुणराज बुढाथोकीको कमाण्डमा खटिएको १० जनाको टोलीले थप उपचारका लागि साँझ १७:५५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) तर्फ लगेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: