पोखरा-लिन्जी सम्बन्ध थप मजबुत बनाउने सहमति

Share:

पोखरा । पोखरा नगर प्रमुख धनराज आचार्यसँग चीनको भगिनी नगर लिन्जीका वैदेशिक मामिला उपनिर्देशक तथा सिपीसिका सचिव डानजेङ साङ्झोउ नेतृत्वको टोलीले पोखरामा शिष्टाचार भेटवार्ता गरेको छ।

भेटका क्रममा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई स्थानीय तहसम्म अझ सुदृढ बनाउने, भगिनी नगरका रूपमा रहेका पोखरा र लिन्जीबीच आपसी सहयोग विस्तार गर्ने तथा साझा हितका विषयमा सहकार्य बढाउनेबारे विस्तृत छलफल भएको थियो।

वार्तामा पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, प्रविधि तथा सांस्कृतिक क्षेत्रमा ज्ञान, अनुभव र सीप आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका थिए।

साथै जनस्तरको सम्बन्ध विस्तार, युवा तथा विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन, पर्यटन बजार विस्तार तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।

नगर प्रमुख आचार्यले पोखरा र लिन्जीबीचको भगिनी सम्बन्धलाई व्यवहारिक तथा परिणाममुखी बनाउँदै आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए। उनले पर्यटन राजधानीका रूपमा परिचित पोखराको अनुभव र सम्भावनालाई अन्तर्राष्ट्रिय साझेदारीमार्फत अझ प्रभावकारी रूपमा उपयोग गर्न सकिने बताए।

चीनको लिन्जी प्रतिनिधिमण्डलका प्रमुख साङ्झोउले पोखरा र लिन्जीबीचको सम्बन्धलाई दीर्घकालीन साझेदारीका रूपमा विकास गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न आफ्नो पक्ष प्रतिबद्ध रहेको बताएका थिए।

भेटवार्तामा मन्जुदेवी गुरुङ, मुक्तिराम अर्याल, कृष्णप्रसाद तिवारी, पूर्ण लामा, विश्वशंकर पालिखे लगायतको उपस्थिति रहेको थियो। लिन्जीको तर्फबाट शिक्षा तथा खेलकुद विभागका उपनिर्देशक लिउ बिन, संस्कृति तथा पर्यटन विभागका उपनिर्देशक चेन जिङसिङ तथा वैदेशिक विभागकी अधिकृत डेजी बाईझोङ लगायत सहभागी थिए।

कमेन्ट गर्नुहोस्
Share: