प्रमुख जिल्ला अधिकारी गुरुङलाई पोखरा महानगरको स्वागत

Share:

पोखरा । कास्कीका नवनियुक्त प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई पोखरा महानगरपालिकाले स्वागत तथा शुभकामना प्रदान गरेको छ।

हालै सरुवा भई कास्की आएका प्रजिअ गुरुङलाई महानगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, विभिन्न राजनीतिक दलका नेताहरू तथा महानगरका महाशाखा प्रमुखहरूले स्वागत गरेका हुन्।

कार्यक्रममा नगर प्रमुख आचार्यले कास्की जिल्लाको समग्र विकास, सुशासन, सेवा प्रवाह र शान्ति-सुरक्षा कायम गर्न प्रमुख जिल्ला अधिकारीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

उपप्रमुख गुरुङ तथा अन्य सहभागीहरूले पनि प्रजिअ गुरुङको कार्यकाल उपलब्धिमूलक रहोस् भन्ने कामना गर्दै स्थानीय तह र जिल्ला प्रशासनबीचको समन्वयलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए।

स्वागत कार्यक्रममा नेपाली कांग्रेसका नेता दिवसमान प्रधानाङ्ग, नेकपा (एमाले) की नेतृ राधिका कुमारी शाही योगीलगायतको उपस्थिति रहेको थियो।

सहभागीहरूले प्रशासन र स्थानीय सरकारबीचको सहकार्यले नागरिकलाई सहज सेवा प्रवाह तथा विकास निर्माणका कार्यलाई गति दिने विश्वास व्यक्त गरेका थिए।

नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गुरुङले सबै पक्षसँग समन्वय र सहकार्य गर्दै जिल्लाको प्रशासनिक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: