
पोखरा । धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिलोकेश्वर शिव मन्दिर परिसरलाई हराभरा र आकर्षक बनाउने उद्देश्यले बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
पोखरा–२८ कालिकास्थित मन्दिर परिसरमा आयोजित कार्यक्रममा बर, पिपल, आँप, बेलपत्र, निम, अशोक, डुम्री, गुराँस, अमला लगायत विभिन्न फलफूल तथा फूलका बिरुवाहरू रोपिएका छन्।
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको आयोजना तथा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिको समन्वयमा सम्पन्न कार्यक्रमले मन्दिर क्षेत्रको सौन्दर्य वृद्धि र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका-२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले व्यापारिक एशोसियसन सामाजिक कार्यमा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै समाज विकासमा यसको योगदान प्रशंसनीय रहेको बताए।
उनले मन्दिर परिसरमा गरिएको वृक्षारोपणले धार्मिक स्थलको सौन्दर्यता थप निखार्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा वडा कार्यालय र एशोसियसनबीच सहकार्यका थप सम्भावना रहेको बताए।
एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले संस्थाले शिक्षा, स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गराउँदै रोपिएका बिरुवाको संरक्षणमा पनि पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा बोल्दै एशोसियसनका अध्यक्ष बुद्धिबहादुर कुँवरले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक कार्यक्रमअनुसार वातावरण संरक्षणलाई प्राथमिकता दिँदै वृक्षारोपण गरिएको बताए। उनले स्थानीयवासीलाई बुद्ध विशाल बजारमा आएर किनमेल गर्न समेत आग्रह गरे।
कार्यक्रममा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिका सल्लाहकार राधिका पौडेल, गाउँ सुधार समूहका कोषाध्यक्ष तथा बुद्धिजीवी माधवप्रसाद पौडेल लगायतले पनि वातावरण संरक्षण र धार्मिक स्थलको संवर्द्धनमा यस्ता अभियान प्रभावकारी हुने धारणा राखेका थिए।
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्धिबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोहरि पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव थमनसिंह गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।
सो अवसरमा एशोसियसनले मन्दिर सेवा समितिलाई दुई थान डस्टबिन समेत हस्तान्तरण गरेको थियो। कार्यक्रममा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो भने आवश्यक बिरुवाहरू वन कार्यालय कास्कीबाट उपलब्ध गराइएको थियो।
