पोखरामा आध्यात्मिक जागरणसहित युवा सशक्तिकरण अभियान

Share:

पोखरा । युवाहरूमा नैतिक मूल्य, सेवाभाव, सामाजिक उत्तरदायित्व तथा आध्यात्मिक चेतनाको विकास गर्ने उद्देश्यसहित ब्रह्माकुमारीज क्षेत्रीय कार्यालय पोखराको आयोजनामा दुई दिवसीय युवा सशक्तिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“आध्यात्मिक जागरणद्वारा विश्व नवनिर्माण(२०८३” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा क्षेत्रीय शुभारम्भ, युवा प्रभाग नेपालको राष्ट्रिय शुभारम्भ तथा युवा सशक्तिकरण प्रशिक्षण कार्यक्रम एकैसाथ सम्पन्न गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की रहेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशका नवनिर्वाचित सभापति नवीन त्रिपाठी विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा भारतस्थित माउन्ट आबू अन्तर्राष्ट्रिय मुख्यालयबाट आएका युवा प्रभागका राष्ट्रिय समन्वयक ब्रह्माकुमार जीतु भाइ तथा प्रशिक्षक ब्रह्माकुमार राजेश भाइले युवाहरूलाई व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, आत्मविश्वास वृद्धि, सकारात्मक जीवनशैली, तनाव व्यवस्थापन तथा राजयोग ध्यानका विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमको अध्यक्षता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालकी अध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परिनीता दिदीजीले गर्नुभएको थियो। कार्यक्रममा महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बरालले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।

दीप प्रज्वलनमार्फत औपचारिक उद्घाटन गरिएको कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै विश्वविद्यालयकी वरिष्ठ उपाध्यक्ष राजयोगिनी ब्रह्माकुमारी कमला दिदीजीले युवाहरूलाई सकारात्मक सोच, आध्यात्मिक मूल्य र आत्मपरिवर्तनमार्फत समाज तथा राष्ट्र निर्माणमा अग्रसर हुन आग्रह गरे।

पश्चिम नेपालका विभिन्न जिल्लाबाट आएका करिब १५० भन्दा बढी युवा-युवतीहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले प्रशिक्षणबाट जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा प्राप्त भएको प्रतिक्रिया दिएका थिए।

आयोजकका अनुसार युवाहरूलाई आत्मिक रूपमा सबल, सामाजिक रूपमा जिम्मेवार तथा राष्ट्रप्रति समर्पित नागरिकका रूपमा विकास गर्ने लक्ष्यसहित यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।

कमेन्ट गर्नुहोस्
Share: