२४ विद्यालयमा स्वास्थ्य सचेतना, परिवार नियोजन संघको अभियान समापनतर्फ

Share:

पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीले सञ्चालन गरिरहेको यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान अन्तिम चरणमा पुगेको छ।

कास्कीका विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको अभियान हालसम्म २०औँ श्रृङ्खलासम्म पुगेको छ।

संघका सभापति नवीन सिग्देलका अनुसार कास्कीका २४ वटा विद्यालय तथा कलेजमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसहित गत भदौ १७ गतेदेखि अभियान सुरु गरिएको हो।

अभियानअन्तर्गत बुधबार पोखरा महानगरपालिका-१२ स्थित शीलतादेवी सामुदायिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

पोखरा महानगरपालिका वडा नं. १२ को सहयोगमा आयोजित कार्यक्रममा वडा सदस्य शान्ति कोइरालाले शुभारम्भ गर्नुभएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले विद्यार्थीहरूका लागि यस्ता सचेतनामूलक कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी, स्टाफ नर्स अञ्जना भण्डारी तथा कर्मचारी सुरज चौधरीले यौन तथा प्रजनन स्वास्थ्य, किशोरकिशोरीमैत्री व्यवहार, स्वास्थ्य सचेतना तथा सुरक्षित जीवनशैलीका विषयमा सहजीकरण गरेका थिए ।

संघका सभापति नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले गरेका थिए ।

संघले अभियानमार्फत किशोरकिशोरीहरूमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सही जानकारी प्रवाह गर्दै स्वस्थ, सुरक्षित र जिम्मेवार जीवनशैलीको विकास गर्ने लक्ष्य राखेको जनाएको छ।

बाँकी विद्यालयहरूमा कार्यक्रम सम्पन्न भएसँगै अभियान औपचारिक रूपमा समापन हुने बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: