
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई ‘भगवान्’ वा ‘बा’ बनाउन नहुने बताएका छन् । यस्तो प्रवृत्तिका कारण मुलुकको राजनीतिमा विकृति भित्रिएको उनले टिप्पणी गरे । नवगठित दललाई यस्तो गल्ती नदोहोर्याउन उनले सुझाव दिएका छन् । चितवनको भरतपुरमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन उद्घाटन समारोहलाई उनले सम्बोधन गरेका थिए ।
कार्यक्रममा शुभकामना दिँदै थापाले रास्वपाका कार्यकर्ता र प्रतिनिधिलाई नेतासँग प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरे । ‘सुशासन तपाईँहरूको मुख्य मन्त्र हो,’ उनले भने ।
विगतमा पुराना दलले नेतालाई पुज्ने गल्ती गरेको उनले स्वीकार गरे । पछि सुधारको प्रयास गर्दा निकै ढिलो भइसकेको उनको भनाइ छ । त्यसैले नेतृत्वलाई सधैं प्रश्न गरिरहन उनले सुझाव दिए ।
चितवन सहरभरि रास्वपाको निलो झन्डा फहराएको क्षण सुखद रहेको उनले बताए । महाधिवेशनमा ४ हजार प्रतिनिधि बसेर देशको भविष्यबारे छलफल गर्नु राम्रो पक्ष भएको उनको धारणा छ । थापाले रास्वपाको महाधिवेशन सफलताको कामना समेत गरे ।
नयाँ शक्तिले विगतका उपलब्धिलाई नजरअन्दाज गर्न नहुनेमा उनले जोड दिए । इतिहासको जगलाई भुल्न नहुने उनले प्रष्ट पारे । ‘निलो झन्डा बोकेर विरोध गर्दै गर्दा ३५ वर्षमा केही भएन नभन्नुहोला,’ उनले भने । आज जहाँ महाधिवेशन भइरहेको छ, त्यो ठाउँमुनि प्रजातन्त्रका लागि लड्ने सहिदको लाश गाडिएको उनले स्मरण गराए ।
पञ्चायतविरुद्धको कठोर संघर्षलाई कसैले बिर्सन नमिल्ने उनले बताए । चितवनको माटोमा लतपतिएको सहिदको रगतलाई स्मरण गर्न उनले आग्रह गरे ।
प्रजातन्त्र र विधिको शासनलाई मन्त्र बनाएर नागरिकलाई सेवा दिनु नै मुख्य दायित्व भएको उनको भनाइ छ । मुलुकको मुख्य शत्रु गरिबी, अज्ञानता, विभेद र अक्षमता रहेको उनले चर्चा गरे ।
जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेसले सधैं सशक्त प्रश्न उठाइरहने उनले प्रष्ट पारे । सबै राजनीतिक दलले आ-आफ्नो धर्म र जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने उनले बताए । यसो गरेमा मात्र देशको राजनीति दरिलो हुने र संविधानको रक्षा हुने उनले उल्लेख गरे ।
