
पोखरा । कास्की जिल्लामा हालै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङलाई लेखनाथ उद्योग वाणिज्य संघले सोमबार स्वागत तथा सम्मान गरेको छ।
संघद्वारा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुङलाई स्वागत गर्दै संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले उनको कार्यकालमा जिल्लामा शान्ति-सुरक्षा सुदृढ भई व्यवसायीहरूले निर्धक्क र शान्तिपूर्ण वातावरणमा उद्योग-व्यवसाय सञ्चालन गर्न सक्ने विश्वास व्यक्त गरिन्।
अध्यक्ष पराजुलीले अनुगमनका नाममा व्यवसायीलाई अनावश्यक त्रास सिर्जना गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँदै लेखनाथ क्षेत्रका ताल तथा जलाशयहरूमा हुने दुर्घटनाबाट मानवीय क्षति हुने गरेको उल्लेख गरिन्। उनले त्यस्ता घटनाको न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा तथा उद्धार व्यवस्थाको आवश्यकता औंल्याइन्।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुङले लेखनाथ क्षेत्रको सामाजिक, आर्थिक तथा भौगोलिक अवस्थाबारे आफू पहिलेदेखि नै जानकार रहेको बताउँदै आगामी दिनमा यस क्षेत्रसँग अझ घनिष्ठ सम्बन्ध रहने विश्वास व्यक्त गरे।
उनले जिल्लामा लागू पदार्थ दुव्र्यसन नियन्त्रण, शान्ति-सुरक्षा कायम तथा सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।
प्रमुख जिल्ला अधिकारी गुरुङले प्रशासनबाट कसैप्रति पनि विभेदपूर्ण व्यवहार नहुने स्पष्ट पार्दै व्यवसायीहरूले पनि उपभोक्ता अधिकार संरक्षण, कर तथा राजस्वसम्बन्धी दायित्वप्रति जिम्मेवार हुनुपर्ने धारणा राखे।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले कानुनसम्मत व्यवसायिक गतिविधिमा राज्यबाट न्यायपूर्ण व्यवहारको अपेक्षा व्यवसायी समुदायले गर्ने बताएका थिए। उनले लामो समयदेखि उठ्दै आएको औद्योगिक क्षेत्रसम्बन्धी विषयमा सकारात्मक पहल हुने विश्वास व्यक्त गरे।
संघका पूर्वअध्यक्ष चतुराखर अधिकारीले प्रमुख जिल्ला अधिकारी गुरुङ अनुभवी र परिचित व्यक्तित्व रहेको उल्लेख गर्दै उनको कार्यकाल सफल र परिणाममुखी हुने विश्वास व्यक्त गरे। उनले गुरुङले जिल्लाको प्रशासनिक नेतृत्वमा उल्लेखनीय कार्यसम्पादन गर्न सफल होऊन् भन्ने शुभकामना दिए।
संघकी अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बाँस्तोलाले गरेका थिए।
