
पोखरा । कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५५ करोड ३८ लाख १ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले स्थानीय उत्पादन वृद्धि, कृषि आत्मनिर्भरता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई केन्द्रमा राख्दै बजेट ल्याएको हो।
सोमबार आयोजित गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष लालसुबा गुरुङ ले बजेट प्रस्तुत गर्दै समृद्ध र आत्मनिर्भर रुपा निर्माणका लागि उत्पादनमुखी तथा जनजीविकासँग प्रत्यक्ष जोडिएका कार्यक्रमलाई प्राथमिकता दिइएको बताइन्।
सार्वजनिक बजेटअनुसार चालु खर्चतर्फ ४१ करोड ८२ लाख ३० हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ १३ करोड ५५ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाले कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि, स्थानीय स्रोत-साधनको उपयोग, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा युवालाई लक्षित रोजगारीका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ।
बजेट कार्यान्वयनका लागि नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त, समपूरक र विशेष अनुदान, गण्डकी प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान, चालु आर्थिक वर्षको मौज्दात रकम तथा गाउँपालिकाको आन्तरिक स्रोत परिचालन गरिने जनाइएको छ।
गाउँपालिकाले आगामी वर्षको बजेटमार्फत आर्थिक विकास, सामाजिक रूपान्तरण र दिगो पूर्वाधार निर्माणलाई गति दिने अपेक्षा गरिएको छ। स्थानीय तहको समग्र विकासलाई केन्द्रमा राखेर ल्याइएको बजेटले कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
