रास्वपा महाधिवेशनमा उम्मेदवारको नामावली रुजु हुँदै, मतदान प्रक्रिया अझै बाँकी

Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको प्रारम्भिक नामावली रुजु गर्ने कार्य तीव्र रूपमा जारी रहेको छ। निर्वाचन आयोगले रातभर काम गरेर उम्मेदवारी विवरण परीक्षण गरिरहेको जनाएको छ।

निर्वाचन आयोगका सदस्य सौरेन्द्र बहादुर शाह का अनुसार प्रारम्भिक नामावली प्रकाशनको तयारी भइरहेको भए पनि समय भने यकिन भइसकेको छैन।

“प्रारम्भिक नामावली रुजु गर्ने प्रक्रियामै छौं। आयोगले रातभर काम गरेको छ। प्रारम्भिक नामावली कहिले प्रकाशन हुन्छ भन्ने अहिले नै निश्चित छैन,” शाहले बताए।

प्रारम्भिक नामावली सार्वजनिक भएपछि उम्मेदवारविरुद्ध उजुरी तथा दाबी-विरोध दर्ता गर्ने प्रक्रिया सुरु हुनेछ।

त्यसपछि आयोगले प्राप्त उजुरीमाथि छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिन समय उपलब्ध गराउने र अन्तिम नामावली प्रकाशन गर्नेछ।

अन्तिम नामावली प्रकाशन भएपछि मात्रै महाधिवेशन निर्वाचनको मतदान चरणमा प्रवेश गर्नेछ।

यसअघि मंगलबार नै रास्वपाको सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। सभापति पदमा उनकै मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित घोषणा गरेको थियो।

रास्वपाको नेतृत्व चयनसँगै अब केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्य चयनतर्फ चासो केन्द्रित भएको छ। महाधिवेशनस्थलमा उम्मेदवार, प्रतिनिधि तथा कार्यकर्ताबीच निर्वाचन प्रक्रियालाई लिएर उत्साहपूर्ण माहोल देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: