
पोखरा । वैदेशिक रोजगारीबाट फर्किएका दुई युवाले पोखरामा धर्म, संस्कृति र स्थानीय उत्पादनलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित नयाँ व्यवसाय सुरु गरेका छन्।
स्याङ्जा घर भई हाल पोखरामा व्यवसाय गर्दै आएका सुदर्शन पौडेल र सञ्जु बराल पौडेलले करिब २५ लाख रुपैयाँको लगानीमा राम मन्दिर नजिक ‘पूजाघर’ सञ्चालनमा ल्याएका हुन्।
यसअघि पोखरा ट्रेड मलमा व्यवसाय सञ्चालन गरिसकेका सुदर्शन पौडेलले विदेशबाट फर्किएपछि फरक अवधारणासहित धार्मिक सामग्री तथा स्थानीय उत्पादनलाई समेट्ने व्यवसाय सुरु गरेको बताए। युवा पुस्ताले धर्म र संस्कृतिसँग जोडिएर पनि सफल उद्यम गर्न सकिन्छ भन्ने सन्देश दिन आफूहरूले यो व्यवसाय थालेको उनको भनाइ छ। पुर्खादेखि सञ्चालन हुँदै आएको व्यवसायलाई आधुनिक र व्यवस्थित ढंगले विस्तार गर्ने प्रयासस्वरूप ‘पूजाघर’ स्थापना गरिएको उनले बताए।
सञ्चालिका सञ्जु बराल पौडेलका अनुसार पूजाघरमा विभिन्न धर्मग्रन्थ, पूजाआजाका सम्पूर्ण सामग्री, शंख, घण्ट, मूर्ति, विवाह, व्रतबन्ध तथा अन्य धार्मिक अनुष्ठानका लागि आवश्यक भाडावर्तन उपलब्ध छन्। साथै, पण्डित र बटुकको सेवा पनि एकै स्थानबाट प्रदान गरिने व्यवस्था गरिएको छ। जन्मदेखि मृत्यु संस्कारसम्म आवश्यक पर्ने सम्पूर्ण धार्मिक सामग्री ग्राहकले सहज रूपमा पाउने उनले जानकारी दिइन्।
व्यवसाय शुभारम्भको अवसरमा आगामी शनिबारसम्म धार्मिक ग्रन्थ, मूर्ति तथा भाडावर्तनमा विशेष छुटको व्यवस्था गरिएको छ। पोखरा महानगरभित्र होम डेलिभरी सेवासमेत उपलब्ध गराइएको सञ्चालकहरूले बताएका छन्।
पूजाघरमा धार्मिक सामग्रीसँगै स्याङ्जा, कास्की, मनाङ, मुस्ताङ, ओखलढुंगा र जुम्लालगायत जिल्लाका स्थानीय उत्पादनलाई पनि प्राथमिकता दिइएको छ। हाल जुम्लाको रातो मार्सी चामल, कालो बोडी, मुस्ताङ र ओखलढुंगाको आलु तथा सिस्नोको धुलोजस्ता उत्पादनको माग बढिरहेको सञ्चालक पौडेलले बताए।
स्थानीय कृषकले उत्पादन गरेका वस्तुको बजार विस्तार गर्दै उपभोक्तासम्म सिधै कृषकको उत्पादन पुर्याउने लक्ष्य व्यवसायले लिएको छ।
यसका साथै सुदर्शन पौडेलले स्याङ्जामा करिब ५ हजार सुन्तलाका बिरुवा रोपेका छन्, जसमध्ये यही सिजनमा ३ हजार बिरुवाले उत्पादन दिने अपेक्षा गरिएको छ। साथै ड्रागन फ्रुटको व्यावसायिक खेतीसमेत विस्तार गर्ने योजना रहेको उनले बताए।
धार्मिक सेवा, स्थानीय उत्पादनको प्रवर्द्धन र आधुनिक व्यवसायिक अवधारणालाई एकैसाथ अघि बढाउने उद्देश्यसहित सञ्चालनमा आएको ‘पूजाघर’ले पोखरामा नयाँ प्रकारको व्यवसायिक अभ्यासको सुरुआत गरेको सञ्चालकहरूको विश्वास छ।
