
सागर राज तिमिल्सिना पोखरा, २४ बैशाख/करिब एक महिनाभित्र पोखराको केहि सडकखण्ड लोडसेडिङको अध्यारोबाट मुक्त भै झिलिमिलि हुने भएका छन् । सौर्य सडकबत्ति जडान गरेर लेकसाईड र न्यूरोड क्षेत्रलाई २४ सै घण्टा उज्यालो बनाउने तयारी पोखरामा शुरु भएको छ । सडक सौर्यबत्ति जडानको काम शुरु भैसको छ । पोखराको न्युरोडमा करिब ५० वटा सोलार बत्तिको लागी आवश्यक पोलहरु गाड्ने काम सम्पन भएको छ । पोखरा उपमहानगर पालिका अगाडी एउटा सोलार बत्ति बल्न पनि शुरु गरि सकेको छ ।
पोखरा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा र सुविधाको लागि सौर्यसडकबत्ति जडान गर्न लागिएको सरोकारवालाको भनाई छ । पोखरा उप–महानगरपालिका, पोखरा पर्यटन परिषद, नयाँसडक सुधार समिति र सेन्टर फर इन्क्लुसिभ ग्रोथ (सिआईजी) को संयुक्त पहलमा लेकसाइड र न्यूरोड क्षेत्रमा सार्वजनिक नीजि साझेदारी कार्यक्रम अन्तर्गत सडक सौर्य बत्ति जडान कार्य शुरु भएको हो ।
पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले करिब एक महिनाभित्र पोखराको सडकमा सौर्यबत्ति बलिसक्ने बताए । ‘जेठभित्रै बत्ति बाल्ने गरि कामलाई तिब्रता दिएका छौ । अधिकारीले भने, ‘जेठ २० गतेभित्रै बालिसक्ने लक्ष्यका साथका काम भैरहेको बताए ।’ उनले पहिलो चरणमा पोखराको न्युरोड र लेकसाइड क्षेत्रमा बत्ति बल्ने बताए । विभिन्न क्षेत्रको सहयोगबाट ‘अबको दुईवर्षभित्र पोखराको सबै भागमा सडक सौर्यबत्ति बाल्ने योजना रहेको बताए । त्यसै अनुसार प्रक्रिया सुरु गरेका छौ । पोखरालाई झिलिमिलि सहर बनाउने प्रयासमा छौ’ उनले भने ।
पोखराको लेकसाईडको फिस्टेलगेटदेखि खहरेचोकसम्म तथा न्यूरोडको सभागृहचोकदेखि चिप्लेढुंगासम्म हरेक ३० मिटरको दुरीमा सडक बत्ति रहनेछन् । प्रत्येक बल्वको क्षमता ४० वाटको हुनेछ । लेकसाईड क्षेत्रमा मात्र १ सय ३ र न्यूरोडमा ७६ वटा सौर्य सडकबत्ति हुनेछन् । यी सडकबत्तिको आयु २५ वर्ष हुनेछ । ‘सडकको दुईतर्फि बत्ति राख्दा त्यस क्षेत्रमा १५ मिटरको फरकमा हुनेछ । यसले थप उज्यालो बन्नेछ’ उनले बताए ।
लेकसाइड क्षेत्रमा सडक बत्ति राख्नका लागि पोखरा उपमहानगरपालिकाले ४५ लाख रुपैयाँ सघाएको छ । त्यस्तै लेकसाइडका पर्यटन व्यवसायी सहित स्थानीयबासिले २८ लाख, न्यूरोडका बासिन्दाले १७ लाख ५६ हजार, वैकपल्पिक उर्जामार्फत १ करोड तीन लाख रुपैयाँ सहयोगबाट बत्तीको काम शुरु भएको हो । सिआईजीले पनि ५८ लाख रुपैयाँ बराबरको प्राविधिक सहयोग गरेको छ । ‘करिब अढाई करोड रुपैयाँको लागतमा सोलार बत्तीको काम भैरहेको छ ।
