
पोखरा। जेन्जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको वडा प्रहरी कार्यालय गगनगौडा, कास्कीको भवन स्थानीयवासीको पहलमा पुनःनिर्माण भएपछि बुधबार औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।
भदौ २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी भवन पोखरा महानगरपालिका-२८, २९ र ३० का स्थानीयवासीको सक्रियतामा पुनःनिर्माण गरिएको हो। पुनःनिर्माण सम्पन्न भएपछि आयोजित कार्यक्रममा भवन प्रहरीलाई हस्तान्तरण गरिएको हो।
तीन वडाको पहलमा गठन गरिएको पुनःनिर्माण समितिले भवनको मर्मत तथा पुनःनिर्माणको जिम्मेवारी लिएको थियो। समितिका अध्यक्ष कुशल गुरुङको नेतृत्वमा करिब ५ लाख रुपैयाँ बराबरको निर्माण तथा मर्मत कार्य सम्पन्न भएको जनाइएको छ।
हस्तान्तरण कार्यक्रममा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले नागरिक र प्रहरीबीचको सहकार्यले मात्र समाजमा दिगो शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सकिने बताए। उनले प्रहरीको आवश्यकता आफ्नै जिम्मेवारी ठानी भवन पुनःनिर्माण गरी हस्तान्तरण गरेकोमा स्थानीयवासी र पुनःनिर्माण समितिप्रति आभार व्यक्त गरे।
प्रहरी–समुदाय साझेदारीको यो उदाहरणले नागरिक र सुरक्षानिकायबीचको विश्वास र सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै कार्कीले निर्माण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिए।
कार्यक्रममा इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख प्रहरी नायव उपरीक्षक गुणराज बुढाथोकी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक सुजित देवकोटा, स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघ लेखनाथ कास्कीका अध्यक्ष, सामुदायिक सेवा केन्द्र कालीकाका प्रतिनिधि, भद्रभलाद्मी, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
आन्दोलनबाट क्षतिग्रस्त सार्वजनिक संरचनालाई स्थानीय समुदायले आफ्नै अग्रसरतामा पुनःनिर्माण गरी प्रहरीलाई हस्तान्तरण गरेको यो कार्यलाई प्रहरी-समुदाय सहकार्यको सकारात्मक र अनुकरणीय उदाहरणका रूपमा हेरिएको छ।
