
रञ्जन अधिकारी पोखरा, २३ मंसीर / ‘हामी बुद्धका देशका नागरिक, हाम्रो शिर सगरमाथा । सीता, भृकुटीको देश । तर, दुःखका साथ भन्नुपर्छ अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो परिचय ‘भ्रष्ट देशका भ्रष्टाचारी मान्छेहरु’ । धेरैले हामीलाई विश्वास गर्न छाडिसके ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका प्रमुख डिल्लीराम शर्माले एक कार्यक्रममा यसो भनिरहँदा सहभागीहरु गम्भीर देखिए ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९) का अवसरमा पोखरामा बुधबार सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा र ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन विषयक अन्तक्र्रिया कार्यक्रममा प्रमुख शर्माले यसो भन्दा गम्भीर बनेको माहौल गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतमले कर्मचारीलाई व्यंग्य गर्दा भने सभाहल गड्गडाहट तालीले गुञ्जायमान भयो । ‘गरीब (सदाचारी कर्मचारी) लाई उपियाँले टोक्छ, धनी (अकुत सम्पती काएका भ्रष्टाचारी) लाई रुपियाँले टोक्छ’ गौतमले व्यंग्य गरे– ‘सदाचारीहरु पैतृक सम्पति बेचेर झुप्रो उठाउँछ, भ्रष्टाचारीहरु तीन तले ठडाएर छात्ती फर्काएर हिँड्छ ।’ उनले राष्ट्रपति आस्था र कामप्रति वफादारिता छैन भने राष्ट्रसेवक होईन राष्ट्रकै महाशत्रु हुने भन्दै सेवाग्राहीले पनि खुसुखुसु घुस दिएर काम फत्ते नगर्न अनुरोध गरे । ट्रान्सपरेन्सी ईन्टरनेशनल (टीआई)का अनुसार नेपालका ६६ प्रतिशत कर्मचारीहरु भ्रष्टाचारी छन् ।
नगरपालिकामा घुस काण्डमा मुछिएका दुई कर्मचारी भरतराज पौडेल र चन्द्रावती वाग्लेको एकै प्रकृतिका घटनामा अख्तियार क्षेत्रीय कार्यालयले गरेको दुई फरक कारबाही सम्बन्धमा पनि सहभागीले जोडदार रुपमा कुरा उठाए । निलम्बनमा परेका पौडेल विशेष अदालतमा मुद्धा लडिरहेका छन् भने वाग्ले एक महिना निलम्बनपछि शाखा सरुवा भएर काममा फर्किसकेकी छिन् । गत १४ असोजमा ‘ अख्तियारले किन सुम्पियो अख्तियारी’ शीर्षकमा बिग एफएममा रिपोर्ट नै प्रसारण भएको थियो । यस विषयमा उत्तर दिँदै नगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले भने– केशको ग्र्याभिटि अलि फितलो भएको कारणले पनि यो विषय हामी आफैले मिलाएको हो । गल्ती नगरेको पनि नदेखिएको, गरेको पनि नदेखिएकोले आवश्यक कारबाही गरियो ।’ तर कस्तो कारबाही भन्नेबारे भने उनले प्रष्ट भनेनन् ।
आयोगका, क्षेत्रीय प्रमुख शर्माले भ्रष्टाचारको जालो तोड्न सरकार, कर्मचारी, नागरिक सबै लाग्नुपर्ने नत्र सुशासनयुक्त समाज निर्माण हुनै नसक्ने ठोकुवा गरे । कास्कीमा सबै भन्दा बढि उजुरी शिक्षा क्षेत्रबाट आएको भन्दै उनले शैक्षिक क्षेत्रमा हुने भ्रष्टाचार अन्त्य हुनुपर्नेमा जोड दिए । कास्कीमा ३९ प्रतिशत उजुरी शिक्षा क्षेत्रमा परेको जानकारी दिए । कार्यपत्रमा प्रस्तुत गर्दै उनले २०७० साल असोज १ मा पोखरामा क्षेत्रीय कार्यालय स्थापना भएको र बुटवलमा सोहि वर्ष २ माघमा सम्पर्क कार्यालय स्थापना भएको जानकारी दिँदै हालसम्म २६६० उजुरी परेकोमा १७५७ फछ्र्यौट भएको बताए । पश्चिमाञ्चलमा अञ्चलगत उजुरी लुम्बिनीमा सर्वाधिक ६० प्रतिशत, गण्डकीमा २६ प्रतिशत र धवलागिरीमा १४ प्रतिशत रहेको छ । उनका अनुसार जिल्लागत आधारमा रुपन्देही २६ प्रतिशत उजुरी सहित पहिलो स्थानमा छ । नवलपरासीमा १६ प्रतिशत उजुरी परेको छ भने कास्कीमा १४ प्रतिशत उजुरी परेको छ । सार्वजनिक श्रोत र साधानको सही र उचित सदुपयोग गरी सर्वसाधारणको हित र कल्याण गर्नुपर्छ भन्ने मानसिकता अझै विकास हुन नसकेको र सार्वजनिक प्रशासनमा अझै शासकीय सोच, शैली र व्यवहार विद्यमान रहेको शर्माको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल सह–क्षेत्रीय प्रशासक दिवाकर बास्तोलाले अन्यायद्वारा धन आर्जन गर्नु नै भ्रष्टाचार भएको भन्दै यस्तो धनले कसैको भलो नहुने बताए । ‘सरकारी जागिर खाने एउटै तहका कर्मचारीको आय कसरी फरक हुन सक्छ ? अनि उसको जीवनशैली किन उच्च र मध्यम ?’ उनले भने– ‘कसैलाई पुग्ने कसैलाई नपुग्ने भन्ने हुँदैन । सबै ईमान्दार हुने हो भने भ्रष्टाचार निर्मुल गर्न सम्भव छ ।’ उनले अध्यात्मिक बनेमा पाप धर्मको ज्ञात हुने र यसले सुसंस्कृत, सभ्य र सदाचारी बन्न सहयोग पुग्ने समेत बताए । उनले सके सपार्न नसके नबिगार्न आग्रह गर्दै कर्मचारीहरु जीवनभर भ्रष्टाचार गर्दिन भनेर आफै कबुल गरी सुध्रन आवश्यक रहेको बताए । कर्मचारी पार्टीको छातामुनी बसेर होईन एउटै युनियन खडा गरी सबै कर्मचारीको सवाल लिएर एक मुख भएर चित्त नबुझेको कुरा राज्यसँग माग गर्ने तर जनतालाई ठग्न नहुने बताए ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल (टीआई), नेपालका केन्द्रिय सदस्य आनन्दराज मुल्मीले मुलुकमा समानान्तर अर्थतन्त्रले समानान्तर सरकार चलाईरहेको टिप्पणी गर्दै यसले सरकार अत्यन्त कमजोर हुने र यस्तो अवस्थामा चाहेर पनि सरकारले केहि गर्न नसक्ने प्रष्ट पारे । ‘मुलकुलाई गम्भीर प्रश्न छ । समानान्तर अर्थतन्त्रले समानान्तर सरकार चलाईरहेको छ, यस्तो अवस्थामा सरकारले चाहेर पनि आफ्ना निर्णय लागु गर्न सक्दैन, काम नै गर्न सक्दैन ।’ मुल्मीले भने– ‘सबै दोषी राजनीतिक दल हो । नेपालमा अरवपति बढेर मुलुक धनी हुँदैन ।’
उनले राजनीतिक नियुक्ति र संरक्षण पाएका कर्मचारीले चेन अफ कमाण्ड समेत नमान्ने र मनोमानी गर्ने भएकाले सेवाग्राही सेवाबाट वञ्चित हुने अवस्था आएको पनि उल्लेख गरे । संवैधानिक अंगमा राजनीतिक भागवण्डाबाट हुने नियुक्तिले कहिल्यै सुशासनको कल्पना समेत गर्न नसकिने मुल्मीको भनाई छ ।
कार्यक्रममा सचेतना समाज नेपालका संयोजक एवं सुनास कास्कीका सल्लाहकार अधिवक्ता सुरेन्द्र थापा मगरले मुलुकमा मौलाएको भ्रष्टाचार र यसको न्युनिकरणका सन्दर्भमा कार्यपत्र प्रस्तुत समेत गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले राज्यले अन्य मुलुकमा जस्तै भ्रष्टाचारीलाई अत्यन्त कडा सजायको व्यवस्था हुनुपर्ने, भ्रष्टाचार अन्त्य गर्ने निकाय अख्तियार नै शुद्ध बन्दै आफुमाथि उठ्ने प्रश्नबाट चोखिनुपर्ने, सेवाग्राहीले पनि घुस दिन नहुनेमा जोड दिएका थिए । उनीहरुले मालपोत, यातायात, नगरपालिका जस्ता बढि भिड हुने कार्यालयमा भ्रष्टाचार, घुसखोरी अधिक हुने भन्दै यसतर्फ अख्तियारले विशेष चासो राख्नुपर्ने बताए ।
कार्यक्रममा सुनास कास्कीका अध्यक्ष पुण्य पौडेलले स्वागत तथा सचिव दीपेन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए ।
