
पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो ३०औँ स्थापना दिवस तथा २९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर-सदस्यीय ब्याडमिन्टन तथा दौड प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
व्यवसायीबीच आपसी सम्बन्ध, सहकार्य र स्वास्थ्यप्रति जागरण अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
दुई दिनसम्म (असार १६ र १७ गते) सञ्चालन भएको ब्याडमिन्टन प्रतियोगिताको उपाधि शुभम पार्टी प्यालेसका सञ्चालक हरि बस्ताकोटी र आरोश फर्निचर उद्योगका सञ्चालक सन्तोष गुरुङको जोडीले जित्न सफल भयो।
फाइनलमा गण्डकी मल्टी एग्रो फार्मका सञ्चालक हरि बुढाथोकी र शिशुवा कंक्रिट ब्लक उद्योगका सञ्चालक लक्ष्मण बाँस्तोलाको जोडी उपविजेतामा सीमित बने।
प्रतियोगितामा लेखनाथ आल्मुनियम एण्ड स्टील उद्योगका भविन्द्र पुन र श्रीराम काष्ठ उद्योगका उपेन्द्रराज सुवेदीको जोडी तथा स्वस्तिका किराना पसलका खिमनाथ शर्मा र रिस्ता फेन्सी एण्ड कस्मेटिक्सका रमेशप्रसाद बाँस्तोलाको जोडीले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे।
ब्याडमिन्टनतर्फ विजेता टोलीले ३० हजार रुपैयाँ, उपविजेताले १७ हजार रुपैयाँ तथा तेस्रो हुने दुई टोलीले ८/८ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यस्तै, बिहीबार सम्पन्न अन्तर-सदस्यीय महिला तथा पुरुष दौड प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रतिस्पर्धीहरूले उत्कृष्ट प्रदर्शन गरे। भण्डारढिक खेलमैदानबाट सुरु भई पावरहाउससम्मको निर्धारित दूरीमा भएको महिलातर्फको प्रतिस्पर्धामा छाया बसौला १५ मिनेट १३ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम भइन्।
इन्दु जोशी १५ मिनेट १७ सेकेण्डसहित दोस्रो, बिनिता गोदार १७ मिनेट ७ सेकेण्डसहित तेस्रो तथा लक्ष्मी बाँस्तोला १८ मिनेट ३० सेकेण्डमा दूरी पूरा गर्दै सान्त्वना स्थानमा रहिन्।
पुरुषतर्फ राहुल थापा १० मिनेट २६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै विजेता बने। नारायण काफ्ले १० मिनेट ५१ सेकेण्डसहित दोस्रो, खड्क कुमाल ११ मिनेट ५२ सेकेण्डसहित तेस्रो तथा रमेश श्रेष्ठ १२ मिनेट १५ सेकेण्डमा दूरी पूरा गर्दै सान्त्वना स्थान हासिल गर्न सफल भए।
महिला तथा पुरुष दुवैतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीहरूले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताहरूलाई असार २० गते आयोजना हुने स्थापना दिवस विशेष समारोहमा सम्मान गरिनेछ। उक्त समारोहको उद्घाटन गण्डकी प्रदेशका उद्योगमन्त्री यशोदा रिमालले गर्ने कार्यक्रम रहेको छ।
संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले व्यवसायीबीचको आपसी सम्बन्ध, सद्भाव र भाइचारालाई अझ मजबुत बनाउने उद्देश्यले खेलकुद कार्यक्रम आयोजना गरिएको बताइन्।
यस्ता गतिविधिले व्यवसायीहरूलाई मानसिक तथा शारीरिक रूपमा स्वस्थ राख्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरिन्।
