कास्की ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन’ जिल्ला घोषणा, बालस्वास्थ्य संरक्षणमा नयाँ उपलब्धि

Share:

पोखरा । कास्की जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा भएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका-२०७१ अनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएपछि बिहीबार जिल्ला समन्वय समिति कास्कीमा आयोजित विशेष समारोहबीच औपचारिक रूपमा घोषणा गरिएको हो।

यसअघि कास्कीका पाँचवटै स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भइसकेपछि जिल्लास्तरमै घोषणा गर्ने आधार तयार भएको थियो। यससँगै कास्कीले सबै बालबालिकामा नियमित खोपको पहुँच सुनिश्चित गर्दै दिगोपन कायम गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।

घोषणा समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलले अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा सबै सरोकारवालाप्रति आभार व्यक्त गरे।

कुनै पनि जनस्वास्थ्य अभियान जनप्रतिनिधि र आम नागरिकको सक्रिय सहभागिताबिनाको सफल नहुने उल्लेख गर्दै उनले स्वस्थ नागरिक नै समृद्ध नेपालको आधार भएको बताए।

उनले बालबालिकालाई विभिन्न सरुवा रोगबाट जोगाउने सबैभन्दा प्रभावकारी र सुरक्षित उपाय खोप भएको उल्लेख गर्दै भविष्यका नागरिकको स्वास्थ्य संरक्षणका लागि नियमित खोप कार्यक्रमलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. युवानिधि बसौला, मन्त्रालयका अतिरिक्त सचिव खिमबहादुर खड्का, जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरिता माल, जिल्ला खोप समन्वय समितिका सदस्य सचिव मधुरजी ढकाल तथा जिल्ला समन्वय अधिकारी नवराज बरालले पूर्ण खोप सुनिश्चितता अभियानले बालस्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको धारणा व्यक्त गरेका थिए।

सो अवसरमा अभियान सफल बनाउन उल्लेखनीय योगदान पुर्‍याउने स्वास्थ्यकर्मी तथा सेवा निवृत्त महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको थियो।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमले कास्कीलाई बालमैत्री र स्वास्थ्य सुरक्षामा अग्रणी जिल्लाका रूपमा स्थापित गर्न थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: