पोखरामा म्याद गुज्रिएका खाद्यवस्तु बेच्ने ८ व्यवसाय कारबाहीमा, ४ लाख जरिवाना

Share:

पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने व्यवसायीमाथि कडा कारबाही गरेको छ।

पाँच दिनको अनुगमनमा ८ वटा व्यवसायलाई ५०/५० हजार रुपैयाँका दरले कुल ४ लाख रुपैयाँ जरिवाना गरिएको छ भने हजारौं रुपैयाँ बराबरका म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्री नष्ट गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको नेतृत्वमा १५ देखि १९ असारसम्म सञ्चालन गरिएको अनुगमनमा अस्पतालका चमेनागृह, विद्यालयका क्यान्टिन, होटल, रेस्टुरेन्ट, डिपार्टमेन्टल स्टोर तथा किराना पसलहरूमा निरीक्षण गरिएको थियो।

अनुगमनका क्रममा मूल्यसूची नराख्ने, उत्पादन मिति, प्रयोगयोग्य मिति, ब्याच नम्बर र लेबल उल्लेख नभएका वस्तु बिक्री गर्ने, सरसफाइमा लापरबाही गर्ने तथा व्यवसाय नवीकरण नगरेका व्यवसायीहरू भेटिएपछि प्रशासनले जरिवानासहित चेतावनी दिएको हो।

प्रशासनले श्रीकृष्ण मारवाडी रेष्टुरेन्ट, सुनिल क्यान्टिन, न्युट्री किचन प्रालि, सर्वगुण फुड्स एण्ड किचन, गुड डे हस्पिटालिटी प्रालि, जेनिसा केमिकल्स, न्यौपाने किराना पसल र जयसवाल सपिड सेन्टरलाई कारबाही गरेको जनाएको छ।

अनुगमनका क्रममा विभिन्न व्यवसायबाट बेकरीजन्य सामग्री, बेकरी सर्टिनिङ्स, मसला, चना, केराउ, दालमोट, चिजबल, कुरकुरे, अमिलो माडा लगायत हजारौं रुपैयाँ बराबरका म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ। जेनिसा केमिकल्सबाट मात्रै ६२ हजार ४ सय रुपैयाँ बराबरको १३० किलो बेकरी सर्टिनिङ्स नष्ट गरिएको प्रशासनले जनाएको छ।

अनुगमनमा पोखरा महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, एकीकृत सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च कास्की तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

जिल्ला प्रशासन कार्यालयले बजारमा उपभोक्तामाथि हुने ठगी र स्वास्थ्यमा जोखिम निम्त्याउने गतिविधि नियन्त्रणका लागि यस्ता अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ। साथै कैफियत देखिएका व्यवसायीलाई तत्काल सुधार गर्न निर्देशनसमेत दिइएको छ।

कमेन्ट गर्नुहोस्
Share: