निजी क्षेत्र राष्ट्र निर्माणको मेरुदण्ड, उद्योग-वाणिज्य नीति चाँडै ल्याउने गण्डकी सरकार

Share:

पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल ले निजी क्षेत्र राष्ट्र निर्माण र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताउँदै प्रदेश सरकारले उद्योगी-व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

शनिबार लेखनाथ उद्योग वाणिज्य संघको ३०औँ स्थापना दिवस तथा २९औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री रिमालले उद्योग, व्यापार र उद्यमशीलताविना प्रदेशको आर्थिक विकास सम्भव नभएको उल्लेख गरिन्।

उनले सरकार निजी क्षेत्रका समस्याप्रति संवेदनशील रहेको र समाधानका लागि निरन्तर काम गर्ने बताइन्।उनले नीति निर्माण, व्यवसाय नवीकरण र वातावरणसम्बन्धी केही निर्णयमा निजी क्षेत्रका गुनासा जायज रहेको स्वीकार गर्दै आगामी दिनमा यस्ता विषय निजी क्षेत्रसँगको छलफलपछि अघि बढाइने स्पष्ट पारिन्। लगानी सुरक्षित हुने वातावरण तयार गर्नु सरकारको दायित्व भएको उनको भनाइ थियो।

मन्त्री रिमालले गण्डकी प्रदेशले छिट्टै आफ्नै उद्योग तथा वाणिज्य नीति ल्याउने तयारी गरिरहेको जानकारी दिँदै नीति निर्माणअघि उद्योगी-व्यवसायीसँग व्यापक परामर्श गरिने बताइन्। उनले डिजिटल प्रविधि, ई-कमर्स, महिला तथा युवा उद्यमशीलता, स्टार्टअप, कृषि-पर्यटनको अन्तरसम्बन्ध, स्थानीय उत्पादनको ब्रान्डिङ तथा बजारीकरण, हरित उद्योग र दिगो पर्यटनलाई प्राथमिकता दिइने उल्लेख गरिन्।

मन्त्री रिमालले लामो समयदेखि विवादमा रहेको पुँडिटार तथा लोकाहा खोलाको जग्गा विवाद सम्बन्धी डीपीआर र ईआईए सम्पन्न भइसकेको जानकारी दिँदै बाँकी वातावरणीय मूल्यांकन प्रक्रिया भदौभित्र सक्ने लक्ष्य रहेको बताइन्। आफ्नो कार्यकालमै उक्त विषय समाधान गर्ने प्रतिबद्धता पनि उनले जनाइन्।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी ले बैंकमा पर्याप्त तरलता भए पनि लगानीको सुरक्षा नभएकाले व्यवसायीहरू नयाँ लगानी गर्न हिच्किचाइरहेको बताइन्। लगानी असुरक्षित बन्दा कतिपय व्यवसायी पसल बन्द गरेर वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको उनले गुनासो गरिन्।

उनले औद्योगिक क्षेत्र स्थापनाको माग अझै पूरा नभएको, उधारो कारोबार र चेक बाउन्सका घटनामा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न प्रशासनसँग आग्रह गरिन्।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेल ले संघीयताको मर्मअनुसार सरकार र निजी क्षेत्रबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी ले प्रविधिमैत्री सोचसहित नयाँ पुस्तालाई उद्यमशीलतामा अघि बढ्न आग्रह गरे।

कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णमानसिंह गुरुङले व्यवसायमैत्री वातावरण निर्माणमा प्रशासन सधैं सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरे। स्थापना दिवसको अवसरमा एपीवान टेलिभिजनका टिकाराम यात्री लाई ‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक पुरस्कार-२०८३’ प्रदान गर्ने घोषणा गरिएको छ।

त्यसैगरी ‘लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार-२०८३’ समाधान राष्ट्रिय दैनिकका प्रधान सम्पादक भरत कोइराला लाई प्रदान गरिएको छ भने ‘वातावरण संरक्षण पुरस्कार-२०८३’ पोखरा-२७ स्थित शिवटोल विकास संस्था लाई प्रदान गरिएको छ। कार्यक्रममा संघले स्थापना दिवसका अवसरमा आयोजना गरेका खेलकुद तथा सामाजिक सेवा कार्यक्रमहरूको पनि समीक्षा गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: