
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले बजारमा स्वच्छता, पारदर्शिता र उपभोक्ता अधिकार सुनिश्चित गर्न व्यवसायीहरूका लागि कडा निर्देशन जारी गरेको छ। प्रशासनले मूल्य सूची अनिवार्य राख्न, ब्याच नम्बर नभएका वा म्याद गुज्रिएका सामग्री बिक्री नगर्न र नियम उल्लंघन गरे कानुनी कारबाही गरिने चेतावनी दिएको हो।
असार २२ गते जारी गरिएको अत्यन्त जरुरी सूचनामा ‘स्वच्छ बजार, स्वस्थ उपभोक्ता, समृद्ध समाज’ भन्ने नारासहित जिल्लाका सम्पूर्ण व्यवसायी, विक्रेता तथा सरोकारवालालाई बजार स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिइएको छ।
प्रशासनका अनुसार प्रत्येक व्यवसायीले आफ्नो पसल तथा वरपरको क्षेत्र सधैं सफा राख्नुपर्नेछ। पसलबाट निस्कने फोहर तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्नुपर्ने तथा प्लास्टिकको अनावश्यक प्रयोग घटाएर वातावरण संरक्षणमा सहयोग गर्न आग्रह गरिएको छ।
उपभोक्ताले वस्तु तथा सेवाको मूल्यबारे स्पष्ट जानकारी पाउन सकून् भन्ने उद्देश्यले हरेक पसलमा मूल्य सूची अनिवार्य रूपमा प्रदर्शन गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रशासनले यसलाई बजारमा पारदर्शी कारोबार सुनिश्चित गर्ने महत्वपूर्ण आधारका रूपमा उल्लेख गरेको छ।
खाद्य सामग्री, औषधि, कस्मेटिक तथा अन्य वस्तुको बिक्रीमा पनि प्रशासनले विशेष निगरानी गर्ने जनाएको छ। ब्याच नम्बर उल्लेख भएका सामग्री मात्र बिक्री गर्न, म्याद गुज्रिएका, नक्कली वा ब्याच नम्बर नभएका वस्तुको कारोबार नगर्न स्पष्ट निर्देशन दिइएको छ। यस्ता गतिविधि गैरकानुनी हुने प्रशासनको चेतावनी छ।
त्यसैगरी उपभोक्तामाथि ठगी, मिसावट, कालोबजारी तथा नापतौलमा अनियमितता नगर्न व्यवसायीलाई सचेत गराउँदै गुणस्तर मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
प्रशासनले स्वच्छ व्यापार, सुरक्षित उपभोक्ता र पारदर्शी बजार व्यवस्थापनका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै बजारमा कुनै पनि प्रकारको गुनासो वा अनियमितता देखिए तत्काल जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन सर्वसाधारणलाई अपिल गरेको छ।
