
पोखरा । प्रहरीले पोखराबाट लागू औषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार २४ गते साँझ करिब ६:०५ बजे पोखरा महानगरपालिका-१८, सेदी क्षेत्रमा ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण ब्युरो, पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले २५ वर्षीय हरीबहादुर घर्तीलाई पक्राउ गरेको हो।
अर्घाखाँचीको सितगंगा गाउँपालिका-२ स्थायी घर भएका घर्ती हाल पोखरा घुम्न आएका थिए। शंकाका आधारमा गरिएको खानतलासीका क्रममा उनको साथबाट १.९०० ग्राम खैरो हिरोइन (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका घर्तीविरुद्ध लागू औषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
